हेटौंडा । मकवानपुरको बकैया-३ स्थित बुद्ध माविले १२ औं राष्ट्रपति रनिङशिल्डको उपाधि पनि हात पारेको छ । यसअघि,२०७७ चैतमा सम्पन्न ११ औं राष्ट्रपति रनिङशिल्डको उपाधि पनि बुद्ध माविले हात पारेको थियो ।

जिल्लाको १० पालिका मध्ये ८ वटाको सहभागितामा रहेको १२ औं राष्ट्रपति रनिङशिल्ड जिल्ला स्तरिय प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण,३ रजत र ३ कास्य पदक प्राप्त गर्दै शिल्ड हात पारेको हो ।

यसैगरि,थाहाको जनकल्याण मावि ५ स्वर्ण,४ रजत र १ कास्य पदक सहित दोस्रो भएको छ भने हेटौंडाको जनप्रिय मावि ४ स्वर्ण,३ रजत र २ कास्य सहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ थाहाको सुृन्दरी देवी मावि प्रथम,अरनीको मावि हेटौंडा दोस्रो र कैलाशको कालिका मावि तेस्रो भएको छ। यस्तै छात्रा तर्फ जकल्याण मावि प्रथम,भानुमावि मकवानपुरगढी दोस्रो र कालिका मावि ईन्द्रसरोवर तेस्रो भएको छ ।

कबड्डीमा छात्र तर्फ हेटौंडाको जनप्रिय प्रथम,थाहाको जनकल्याण दोस्रो र मकवानपुरगढीको चण्डीका मावि तेस्रो भएको छ । यस्तै कबड्डीमा छात्रा तर्फ जनकल्यण प्रथम,चन्द्रोदय मावि दोस्रो र मकवानपुरगढीको बंशगोपाल तेस्रो भएको छ ।

उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बुद्धका आयुस नेगी, र बालबोधका करुणा पाख्रीन, भलिवलमा सुन्दरीदेवीका पुजन गुरुङ र जनकल्याणकी सविना रुम्वा,तथा कबड्डीमा जनप्रियका निश्चल थापा तथा जनकल्याणकी कंचन घले भएका छन् ।

विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही,विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।

दुई दिन सम्म संचालन भएको प्रतियोगिताका विजेता खेलाडीहरुले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्ने छन् । प्रदेश प्रतियोगिता यही असार २५ गते देखि काठमाडौमा हुने बताईएको छ ।