हेटौंडा । पछिल्लो केहि महिना यता हेटौंडा उपमहानगरपालिकामा चोरीको घटनाहरु बढी रहेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा पार्किङ स्थलबाटै मोटरसाईकल चोरी लगाएत अन्य चोरीको घटनाहरु नरोकिरहेको अवस्थामा अर्को चोरीको घटना पनि थपिएको छ ।

पछिल्लो दुई सातामा हेटौंडा बजारको मुख्य सडक नजिकै रहेको घरहरुबाट ११ वटा ई–रिक्सा (मयुरी) को ४४ थान ब्याट्री चोरी भएको छ। गएराति पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालय नजिकै हेटौंडा–१० राप्तीरोड बस्दै मयुरी मजदुरी गर्ने ४१ वर्षीय भिमलाल जोशीको ना १ ह १४१३ नंबर मयुरीको ४ थान ब्याट्री चोरी भएको छ ।

खबरब्रेक संग कुरा गर्दै जोशीले गएराति आफ्नै घर आगनमा पार्किङ गरेर चार्जमा राखिएको मयुरी बिहान ४ बजे उठेर बाहिर निस्कदा हेर्दा मयुरीनै हराएको बताए । ‘प्रहरीको मुख्य कार्यालयबाट २० मिटरको नजिकैबाट गएराति मयुरी हरायो । बिहान मयुरी खोज्ने क्रममा राप्ती बगरमा मयुरी फेला पर्यो तर मयुरीको ४ थान ब्याट्री भने चोरी भएको पाए । जोशीले भने,प्रहरीमा निवदेन दिँदै छु ।’ जोशीको मयुरी भेटिएको स्थानमा ब्याट्रीको तार काट्नको लागि प्रयोग हुने औजार पनि फेला परेको छ ।

यसैगरि,गएरातिनै हेटौंडा-१० का जोशीको मात्र मयुरीको ब्याट्री चोरी भएन हेटौंडा–१ चौकीटोल बस्ने रोशन दासको पनि दुई वटा मयुरीको ८ वटा ब्याट्री चोरी भएको छ । ५ वर्षदेखि मयुरी चदाउँदै परिवार पाल्दै आएका दासको ब्याट्री चोरी भएको पहिलो घटना हो । दासका अनुसार आफ्नो ना १ ह ३३९५ नंबर र ना ३२६० नंबरको मयुरीको गएराति ११ र १२ बजेको बिचमा ब्याट्री चोरी भएको छ । उनले ब्याट्री बक्समा लगाएको ताला फुटाउन चोरले तेजाबको प्रयोग गरेको समेत बताए । ‘ताला फुटाउन तेजाब प्रयोग गरेछन् । ब्याट्रीको तार काटेर ब्याट्री चोरेछन् । दासले भने, एक वटा ब्याट्रीको साँडे २२ हजार पर्छ,८ वटा ब्याट्री चोरी भएको छ । करिब १ लाख ८२÷८३ हजार बराबरको ब्याट्री चोरी भयो ।’

दाससंगै मयुरी मजदुरी गर्दै परिवार पाल्दै आएका बकैया–७ हिरामुनी घर भएर हेटौंडा नवलपुर बस्ने ३० वर्षीय मयुरी चालक भीमबहादुर थिङ पनि ब्याट्री चोरी भएसंगै प्रभावित भएका छन् । थिङले गएराति मयुरीको ब्याट्री चोरी भएसंगै काम रोकिएको बताए । ‘दैनिक ज्याला मजदुरीमा मयुरी चलायरनै आफ्नो ६ जनाको परिवार पाल्दै आएको छु । थिङले भने,ब्याट्री चोरीको घटनाले निकै दुखी भएको छु। केहिदिन अघि मात्रै नयाँ ब्याट्री हालिएको थियो । यसरिनै चोरीको घटना बढीरहने हो भने अब कसरी काम गरेर खाने ?’

एकैरात ८ मजदुरको मयुरीको ब्याट्री चोरीः
गएराति ३ वटा मयुरीको १२ थान ब्याट्री चोरी भएको पहिलो घटना भने होईन् । यसअघि,गएको असार ५ गते राति ११ बजेदेखि बिहान ६ बजेसम्म ८ वटा मयुरीको ३२ थान ब्याट्री चोरी भएको थियो । आफु बस्ने घर,डेरा अगाडी आँगनमा चार्ज गरेर राखिएको मयुरीको ब्याट्रीहरु चोरी भएको पीडितहरुले बताएका छन् ।

हेटौंडा–५ बस्ने पुष्पलाल पार्क बस्ने मोहम्मद आविर हुसने,सोहि वडाको सानोपोखरा राधाकृष्ण मन्दिर अगाडी बस्ने सुर्दसुन बजगाई,हेटौंडा–२ संगमचोक नजिकैका भीमप्रसाद बजगाई,सोहि वडाका साईली स्याङतान,हेटौंडा–५ पिप्लेका विकास श्रेष्ठ,मनकामनाचोकबाट बाबुराम सापकोटा,भुलन महरा र प्रेमलाल महराको मयुरीको ४÷४ थान ब्याट्री चोरी भएको हो । उनिहरुले चोरी भएको भोलिपल्ट असार ६ गतेनै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

तर प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको भन्दै आज अखिल नेपाल विद्युतिय तथा रिक्सा श्रमिक संघ मकवानपुरले पत्रकार भेटघाट गर्दै दिनानुदिन ब्याट्री चारीको घटना बढ्दा पनि प्रशासन मौन रहेको आरोप लगाएको छ । संघका उपाध्यक्ष बलाराम थापाले प्रहरी प्रशासनमा निवेदन दिँदा समेत चासो नदिएको बताए । उनले प्रहरी कार्यालयको गेटबाटै पनि चोरी हुदाँ समेत चोर पत्ता लगाउन नसक्नु प्रशासन माथि गम्भीर प्रश्न उठेको बताए । उनले ११ वटा मयुरीको ४४ थान ब्याट्री चोरी हुँदा ९ लाख ९० हजार बराबरको क्षती भएको बताए । उनले आफुहरुले ब्याट्री चोरी भएको स्थानहरुको नजिकको सिसी क्यामराहरुको खोजि गर्दा उक्त क्यामराहरु काम नलाग्ने स्थितिमा पुगेको पाएको समेत बताए ।

उनले केहि सिसी क्यामरामा ब्याट्री चोरी गरिरहेको भिडिओ क्लिपहरु फेला पारेको तर मान्छे र ब्याट्री चोर्न प्रयोग भएको सवारीको पहिचान हुन नसकेको बताए । उनले हेटौंडा बजारमा सिसी क्यामराहरु जडान गरी चोरीको घटना नियन्त्रणमा लिन समेत सम्बन्धित निकायसंग माग गरे ।

पीडित पनि चोरको खोजीमाः
मयुरीहरुको ब्याट्री चोरी भएपछि पीडितहरु पनि चोरको खोजि गरिरहेका छन् । उनिहरुले प्रहरीलाई ब्याट्री खोजि गर्न निवेदन दिएपछि आफुहरु पनि चोर खोजिरहेको बताएका छन् । पीडित मजदुर मयुरी चालक सुर्दसुन बजगाईले आफ्नो मयुरीको ब्याट्री चोरी भएको दुई साता बित्ता पनि प्रहरीले ब्याट्री फेला पार्न नसकेको बताउँदै चोर पत्ता लगाउन विभिन्न उपाएहरु खोजि गरिरहेको बताए ।

उनले प्रहरीलाई खोजि कार्यमा सहज होस् भनेर आफुहरुलेनै सिसी क्यामराको फुटेज उपलब्ध गराएको बताए । उनले चोरीको घटनाहरु बढ्दै गएको भन्दै घटनाप्रति स्थानीय जनप्रतिनिधि तथा प्रशासन गम्भीर हुनुपर्ने बताए । उनले दैनिक ज्यालादारी गर्ने मजदुरहरुको मयुरीको ब्याट्री चोरी भएको र ब्याट्री जोड्न समेत निकै समस्या भएको भन्दै चोरी पत्ता लगाएर या स्थानीय सरकारबाट क्षेतीपुर्ती दिन माग समेत गरे ।

चोरीको घटनामा गम्भिर छौ,सिसी क्यामरालाई ब्यवस्थित बनाउँदैछौः प्रवक्ता कार्की
जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले हेटौंडा बजारमा भइरहेको चोरीको घटनाहरुप्रति प्रहरी गम्भिर भएको बताएका छन् ।

खबरब्रेकसंग कुरा गर्दै प्रवक्ता कार्कीले हेटौंडा बजारमा भईरहेको ब्याट्री चोरीको घटनाको अनुसन्धानलाई तिब्रता दिईएको बताए । उनले घटनामा ३÷४ वटा सवारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको समेत बताए । उनले प्रहरी कार्यालयको निगरानीमा रहेको सिसी क्यामराहरुलाई व्यवस्थित बनाउने काम अघि बढिसकेको बताए ।

बागमतीको राजधानी रहेको हेटौंडामा सार्वजनिक स्लथलमा सिसी क्यामराको अभाव भईरहेको छ । यहाँको जनसंख्या र विभिन्न घटनाहरु बढिरहेको अवस्थामा हेटौंडा बजारमा राखिएको करिब ४० थान सिसी क्यामराहरु मध्ये हाल २२ थानले मात्र काम गरिरहेका छन् ।


सुमन दाहाल