file photo

हेटौँडा । मकवानपुरको क्षेत्र नंबर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य विरोध खतिवडाको मन्त्री पद खोसिएको छ । उनि २०७८ साल असोज २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका थिए ।

नेकपा एमाले विभाजनको समयमा आफुलाई साथ दिने सबै सांसदलाई मन्त्री पद दिने सहमति बमोजिम नेकपा एसले अहिलेका मन्त्रीलाई फिर्ता गर्दै नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएपछि मकवानपुरका खतिवडाको मन्त्री पद खोसिएको हो ।

नेकपा एसका अध्यक्ष माधव नेपालले अब तपाईहरुको पालो सकियो, पूर्व सहमति अनुसार अरु सांसदहरुलाई पालो दिनु भनेर आग्रह गर्दा पनि नमानेर हस्ताक्षर अभियान सञ्चालन गरेका खतिवडाको मन्त्री पद खोसिएको हो । आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रीपरिषद पुर्नगठनमा खतिवडा अटाएनन् । खतिवडा सहित ५ जना मन्त्री र राज्यमन्त्री परिवर्तन भएका छन् ।

पटक–पटक नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपनि मन्त्री नभएका खतिवडा पार्टी विभाजन गरेर भएपनि ९ महिनासम्म मन्त्री बन्न सफल भएका थिए । कोभिडको समयमा स्वास्थ्य मन्त्री बनेका उनलाई २४ लाख खोप हराएको लगाएतको आरोप लागेको थियो । आजैमात्र उनले विना टेण्डर औषधी खरिद गर्न लागेका समाचार बाहिरिएका थिए ।