राजनीतिमा गठबन्धन भनेको चुनाब जित्न वा सत्ता साझेदारीको लागी गरिने अभ्यास हो । गठबन्धनले कुनै पनि पार्टीको एकल नीति र कार्यक्रम समेट्न सक्दैन बरु साझा स्वार्थमा अलमलिएर सत्ता चलाउने काम मात्रै गर्छ ।

सरकार चलाउन आवश्यक बहुमत कुनै पनि दलले एकल रुपमा पुर्याउन नसक्नु नै गठबन्धनको परिस्थिति सृजना हुनु हो। पुर्व, पश्चिम, उत्तर, दक्षिण चारतिर फर्किएका दलहरु गठबन्धनमा गला मिलाउन पुगेका हुन्छन् । प्रत्येक राजनीतिक दलको आफ्नै नीति तथा कार्यक्रमहरु र आ-आफ्नै राजनीतिक कार्यदिशा र कार्यभारहरु हुन्छन। गठबन्धन गरेर सरकार बनाउँदा सरकार चल्छ मात्रै तर कुनै पनि दलको नीति तथा कार्यक्रमले प्रधानता पाउँदैन।

गठबन्धन थोरै बाध्यता र अधिकतम अवसरवादी चालसुत्रको सम्बन्ध हो। गठबन्धनमा पुँजिवादी, समाजवादी, साम्यवादी, यथास्थितिवादी, प्रतिक्रियावादी, लम्पसारवादी, सबै मिलेका हुन्छन् । यसो हुँदा एउटा रफ्तारमा जानू पर्ने बिकास, निर्माण र परिवर्तनका कुराहरु ठप्प हुँन्छ्न । सत्ताको गाँस पाएकाहरु, सत्ताको नुन खाएकाहरु, सत्ताको थाल कचौरो चाट्न पाएकाहरु गठबन्धनमा खुशी हुन्छ्न बाँकी अरुलाई यसले खुसी पार्न सक्दैन । यस्तो अवस्थामा एउटा वादीले खुट्टा उचाल्ने बितिकै अर्को वादीलाइ शंका लागिहाल्छ अनि टाउको दुखिहाल्छ जसले गर्दा सिन्को नभाँच्नेवादी बनेर बुइगलमा सुतेर चिया पिउँदै आँखिझ्यालबाट गाउँबस्ती हेर्ने अल्छी घरज्वार्इको हालत भन्दा गठबन्धनको हालत फरक हुँदैन।

गठबन्धनको सरकार लामो समय रहँनु भनेको एक प्रकारले बिना नीति, बिना सिद्धान्त, बिना गन्तव्य देश चल्दैछ भन्ने हुन्छ। किन भने सबैको साझा स्वार्थ मिलाएर रूपान्तरणको गतिविधि गर्न सम्भव नै छैन । यस्तो अवस्थामा स्वच्छ राजनीतिक अभ्यास हुन नसक्दा सामाजिक रूपान्तरण र आर्थिक नवनिर्माणले गति र दिशा तय गर्न नि सक्दैन, यसले देशलाइ बर्षौं बर्ष पछाडी धकेल्न सक्छ। अर्को पार्टीको मेख मार्न बन्ने गठबन्धनरुपी शक्ति आफैंमा अस्थायी शक्ति त हो नै साथै यसको मुल आशय नै सत्ता उपभोग मात्रै हो।

मिलेर चुनाब भिड्न सक्छन्, मिलेर सरकार चलाउन सक्छन् तर हामी एउटै पार्टी हो भन्न सक्दैनन् किन भने समाजको बिष्लेषण गर्ने र उन्नत समाज निर्माण बारेको धारणा दल अनुसार फरक फरक छन । नीति फरक, सोच फरक, गन्तव्य फरक तर गठबन्धनमा जोडिनु भनेको मियो गाडेर खाली खलोमा गोरु घुमाउनु जस्तो मात्रै हो। जनता धान पनि झर्ने र पराल पनि तयार हुने दाइँ हेर्न चाहन्छन।

आम जनता दैनिक प्रशासन संचालनमा अलमलिएको सरकार हेरेर चित्त बुझाउन चाहँदैनन। आमूल परिवर्तनको लागि नीति बनोस्, पुजीवादी होस वा समाजवादी होस वा साम्यवादी होस एकल राजनैतिक बिचारको प्रयोग होस भन्ने धेरैको चाहना हुन्छ। सत्तामा पुग्ने लक्ष्य मात्रै राखेकाहरुको लागि त गठबन्धन अवसर हुन सक्छ तर साच्चै समाज परिवर्तनको यात्रामा हिँडेकाहरुको लागि गठबन्धनले अल्मल्याउने काममात्रै गर्दोरहेछ। सत्ता स्वादमा अल्मलिनु भनेको निश्चित ब्यक्तिको स्वार्थपुर्ती बाहेक केहि होइन।

परिवर्तन र समृद्धिको लागि बिचारले प्रधानता पाउनु पर्छ र बहस आवश्यक छ। तर गठबन्धनमा दलको विचारलाई शुन्यमा राखिन्छ र सहमतिलाई जोड दिइन्छ जसले गर्दा दलगत सिद्धान्त मृतप्रायः हुन्छ। लामो समय गठबन्धन रहँनु भनेको मुर्दाशान्तिको अवस्था जस्तै हो। साच्चै बिकास, परिवर्तन र समृद्धि चाहने हो भने आफ्नो आफ्नो बिचारको सशक्त प्रयोग हुनु जरुरी छ। आफू चुनाव जित्न र अरुलाइ नियोजीत रुपमा हराउन मात्रै गठबन्धन बन्ने होइन कि आफ्नो बिचार र योजना लिएर जनतामाझ जाने र जनताको मन जितेर सत्ता चलाउने अभ्यास गर्न ढिला गर्नु हुन्न। तसर्थ दलहरुले आफ्नो असली स्वरुप थाहा पाउन र पार्टीगत सिद्धान्तको प्रयोगलाई थप धारिलो बनाउँदै अग्रगामी छलाङ मार्न तुरुन्तै गठबन्धन टुट्नु पर्छ ।


अर्पण पराजुली