

अर्पण पराजुली । विगत केहि समय यता नेपालमा अत्याधिक चर्चित एमसीसी संघीय संसदबाट पारित भए संगै धेरै सवालहरु उजागर भएको छ।
एमसीसी बल्छिमा राखेको चारो हो कि भन्ने धेरैको अनुमान छ। कसैले सामन्य परियोजना मात्रै हो भनेका छन्। यो अनुमोदन भएपछीका सवालहरु:
१.राष्ट्रियताः नेपाली जनता राष्ट्रियताको सवालमा कट्टर छ्न्। राष्ट्रियतामा आंच आउँछ कि भनेर चिन्तित छन् बरु अनेक दुःख भोग्न तयार छन् तर राष्ट्रियता शानको रुपमा लिन्छन्, यो कहिल्यै गुमाउन चाहंदैनन, राष्ट्रियता प्राण भन्दा प्यारो छ भन्ने सवाल जनताले सडकमा उत्रिएर र सामाजिक संजालमा तिब्र उपस्थिती जनाएर फेरि पनि प्रमाणीत गरेका छन्।
२. विकासः नेपालमा विकासका क्रियाकलापहरु तिव्ररुपमा संचालन गर्नु जरुरी छ। विद्युतिकरण र सडक संजाल विस्तारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सके सामाजिक रुपान्तरण र आर्थिक नवनिर्माणको क्षेत्रमा अहम् भूमिका खेल्न सक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको निस्कर्ष रहेको बुझियो।
३.अन्तर्राष्ट्रिय सम्बन्धः असंलग्न परराष्ट्र नीति र पंचशिलको सिद्धान्त नेपालको सन्दर्भमा कति सान्दर्भिक छ भन्ने कुरा एमसीससीले व्यापक चर्चामा ल्याइदिएको छ। नजिकका छिमेकी र विश्व जगतका शक्तिशाली राष्ट्रहरु संग कसरी होसियारपूर्वक र कुटनैतिक सम्बन्ध राख्न सक्नु पर्छ भन्ने कुरा सम्झाइदिएको छ।
४.अन्तर्राष्ट्रिय कुटनीतिः धनी र सम्पन्न राष्ट्रहरुले विश्वमा आफ्नो प्रभुत्व र दवदवा कसरी कायम राख्छन् भन्ने कुरामा गरिने अड्कलबाजिहरु प्रशस्त रहेछ्न्। यस्ता अड्कलबाजीहरु र शंका उपशंकाहरु निवारण गर्न गरिएका प्रायः प्रयासहरु जनताले पत्याएनन।
५.नेता र जनताबिचको सम्बन्ध र विश्वासः नेताले कतै गलत निर्णय पो गर्छन् कि भन्ने आशंका जनतामा प्रशस्त रहेछ। नेतालाइ खवरदारी गर्दै महिनौं सडकमा नारा जुलुस गरेर बसेका जनताहरु संसदमा एमसीसी अनुमोदन भएसंगै चुप लागेर बसे। जनताले नेताको क्रियाकलाप प्रति आलोचनात्मक समर्थन गरिरहेका रहेछन् अब जनता र नेता बिचको सम्बन्ध कस्तो बनाउने भन्ने सोचेर नेताले उचित कदम चाल्न जरुरी रहेछ ।
६.संसदको सर्वोच्चताः संसदको प्रक्रिया पूरा गरेर मात्रै महत्त्वपूर्ण निर्णयहरु गर्न सकिने रहेछ। पार्टीको निर्देशन अनुसार सांसदहरु चल्ने रहेछन्।
७.निर्णय क्षमताको प्रयोगः आवश्यक पर्दा उचित निर्णय गर्ने क्षमता प्रदर्शन गर्न सक्नुले सवलिकरणको अवस्थालाई बुझाउंदो रहेछ। कसैले स्पष्ट समर्थन गरे, कसैले स्पष्टरुपमा नकारे र कसैले हुन्छ या हुँदैन केही पनि भनेनन्। यी सबैको आआफ्नै दाउ छन्।
८. शक्ति राष्ट्रको भुमिकाः शक्तिशाली राष्ट्रले चालेको कदम असफल हुंदो रहेनछ। फकाएर, तर्साएर जसरी पनि आफ्नो कदम अगाडि बढाउँदो रहेछन्।
९.छिमेकीसंगको सम्बन्ध: तेस्रो पक्षसंग केही लिँदा वा दिँदा छिमेकीको चासो हुने रहेछ। छिमेकी संगको असल सम्बन्ध अत्यन्तै महत्वपूर्ण रहेछ।
१०.संचारका साधनको भूमिका: जुनसुकै विषयबस्तुमा आम मानिसको चासो कसरी आकर्षीत गर्ने र सुसूचित बनाउने भन्ने कुरामा संचारका माध्यमहरुको भुमिका सबैभन्दा प्रभावकारी हुने कुरा फेरि पनि प्रमाणित भएको छ।
११. शक्ति राष्ट्रप्रतिको आशंकाः विश्व शक्ति राष्ट्रहरुको बारेमा अनेक आशंकाहरु छन् । जहाँ शक्ति राष्ट्र प्रवेश गर्छ त्यहाँ भलो नगर्ने पो हो कि ? थिचोमिचो हुने पो हो कि ? एमसीसी दया मायाले दिएको होइन यो कुनै पासो पो हो कि भन्ने आशंका पर्याप्त मात्रामा रहेको देखियो।
१२.दाताको सहयोग: नेपाल जस्तो देशले बाध्य भएर दाताको सहयोग लिनु पर्ने रहेछ। लिउँ कि नलिउँ भन्दा भन्दै लिन बाध्य हुनु पर्ने रहेछ।
१३. नेताको सत्ता मोहः हजारौं जनता सडकमा उत्रिएर विरोध गर्दा पनि बस्दा भन्दा निस्कँदा फाइदा हुने हुँदा पनि, भैरहेकालाइ छोडेर अर्को ल्याउँदा घाटा हुने भए नि ल्याउन तयार हुने र जान तयार हुने ठाँउ भनेको सत्ता रहेछ।
१४.उपाय निकाल्न खप्पिस: दाताको तारो हुनबाट पनि बच्न सकियोस् अनि जनताको गाली खान बाट पनि बच्न सकियोस् भनेर तुरुन्तै नयाँ नयाँ उपाय निकाल्न नेताहरु खप्पिस हुंदो रहेछन्। क्षणीक आवेग रोक्ने तर कुनै तुक र तर्क नभएको उपाय निकालेर ‘फेस सेभ’ गर्न सक्ने क्षमता पनि नेताहरुमा रहेछ।
१५.सर्वशक्तिमान नेताहरुः नेताहरु कति सम्म शक्तिशाली रहेछन भने बाहिर आन्दोलन गर्न कार्यकर्ता सडकमा उतारेर भित्र भित्रैअर्कै निर्णय गर्न सक्दो रहेछन्। अनि नेताले जनचाहना विपरित निर्णय गरे पनि त्यो निर्णय विरुद्ध कुनै कार्यकर्ता चुं सम्म नगरी चुप लागेर बस्दो रहेछन्।
राष्ट्रिय महत्वका विषयमा संसदबाट निर्णय अनुमोदन हुँदा खुशीयाली र्यालीहरु/सभाहरु र दीपावाली आदि हुनु पर्नेमा अनुमोदन भएको दिनदेखी जताततै सुनसान बन्न पुग्यो। यसले एमसीसी अनुमोदनबाट बहुसंख्यक नेपाली जनता खुशी छैनन् भन्ने प्रष्ट पार्यो। विभिन्न देशको नामै किटेर भविष्यमा नेपालमा उनीहरुको रवैया थामि नसक्नुहुनेछ भनेर अझै पनि अनेक अड्कलवाजीहरु चलिरहेका छन् ।
सरकारले यो परियोजनाको सफल कार्यान्वयन गरि चमत्कारपुर्ण विकास गर्नु त छँदै छ, यो संगसंगै अहिले आम मानिसमा रहेको भ्रम, शंका , उपशंका र अड्कलवाजीहरु चिर्न सरकारले ढिला गर्नु हुन्न। विकास होस, राष्ट्रियतामा कुनै धक्का नलागोस, छिमेकीसंगको सम्बन्ध जस्तको तेस्तै रहिरहोस्, नेपालको खनिज लगायतका सम्पतिमा कसैको आँखा नलागोस अनि अरु राष्ट्रले एमसीसीबारे निर्णय गर्नु पर्दा नेपालको उदाहरण दिएर यो सांच्चै उपलब्धिमुलक हुन्छ भन्ने धारणा बनाउन सकुन। अहिले निर्णय भयो नतिजा त आउने दिनले देखाउने नै छ ।
प्रतिक्रिया दिनुहोस्