अर्पण पराजुली । जब मान्छेसंग तर्क सकिन्छ तब गालीगलौज शुरु गर्छ अनि गालीगलौज पनि सकिए पछि भौतिक आक्रमणमा उत्रीन्छ। मान्छेको सोच, बिचार र व्यबहार बंशाणुगत तत्व र वातावरणको परीणाम हो साथै ज्ञानेन्द्रीयहरु नै मानिसमा चाहनाको सृजना र भावी कदमको निर्धारणको आधारहरु हुन्।

मै हुँ भन्ने सोच भएकाहरु, म मात्रै जान्नेसुन्ने हुँ भन्नेहरु, म बाहेक अरुलाइ केही थाहा छैन भन्नेहरु, सम्बन्धित क्षेत्रको विशिष्ट ज्ञान नभएकाहरु, आन्तरिकरुपमा कम्जोर मानिसहरु र डर, त्रास र भ्रम सृजना गरेर अरुलाई बशमा राख्न खोज्ने र आत्मरतिमा रमाउनेहरु गालिवादको सहारा लिइरहेका हुन्छन्।

अरुलाइ गाली गरेर, अरुको दोष देखाएर, अरुलाइ कम्जोर देखाएर आफू सहि र ठुलो हुँ भन्ने देखाउन खोज्ने यस्ता ब्यक्तिहरु संग दुरदृस्टी र भावी योजना केही हुँदैन। बिगतको कामको आधारमा अरुको मुल्यांकन गर्न खोज्ने तर आफ्नो योजना के हो प्रस्तुत गर्न नसक्ने यस्ता ब्यक्तिहरु अरुले सबै गल्ती गरेको मात्र सम्झन्छन् र त्यसैलाई सुधार गरेर आफुले राम्रो गरेको प्रमाणीत गर्न समय र श्रम लगाइरहेका हुन्छन् ।

यस्तो मनोदशा कमजोर मानसिकताको उपज हो र यस्तो अवस्थामा नयाँ सृजना केही हुन सक्दैन। सार्वजनिक पदमा यस्ता स्वभावका ब्यक्तिहरु पुग्ने हो भने त झन समाज परिवर्तन कहिल्यै हुनै सक्दैन बरु वास्तविक यथार्थको ढाकछोप गरेर हांसिमजाकमा समय बितिरहन्छ।

विगत केही बर्ष यता नेपाली राजनीतिको प्राय पात्र र प्रवृत्ति गालिवादको सहारामा चलिरहेको देखिन्छ। लोकतन्त्रलाई बलियो बनाउन अनेकौं नीति नियम बनाउन पर्नेहरु, स्रोत साधनको अधिकतम सदुपयोग गर्न दृस्ठिकोण बनाउन पर्नेहरु, उपयुक्त वैदेशिक कुटनीती अपनाउँदै लोकतन्त्रलाइ मलजल गर्दै लोकतन्त्रलाइ गाउँगाउँसम्म पुर्याउन लागीपर्नुपर्नेहरु सबैले अरुलाइ गाली गरेर मात्रै आफू सफल र चोखो भएँ भन्ने भाव राख्दा समृद्धिको सपना अधोगतितिर गैरहेको छ।

आफ्नालाई मिठा गफ दिने र पराइलाइ सत्तोसराप मात्र गर्ने प्रवृत्तिले क्षणीक रमाइलो त बनाइरहेको छ तर भविस्य अन्यौलग्रस्त बन्दैछ। राष्ट्रियताको मुद्धा ओझेलमा परेका छन र राष्ट्रियतालाई बेलाबखत  भाषण गर्ने बिषय जस्तो मात्रै बनाइएको छ। नेपालले अन्तर्राष्ट्रिय मंचहरुमा औपचारिक सहभागीता बाहेक अरु कुनै भुमिका देखाउन सकेको छैन।

जनजिवीकाको सवाल परम्परागत,भद्दा र चुनावीनारा भन्दा फरक बिषय बन्न सकेको छैन। स्रोत साधनको पहिचान र परिचालनको मुद्धा गनगन गर्ने शैलीमा प्रस्तुत गर्नु बाहेक बृहत अनुसन्धानात्मक र दीर्घकालीन रणनीतिक स्वरुपमा आउन सकेको छैन।

सामाजिक रूपान्तरण र आर्थिक नवनिर्माणको अभिभारा दिनानुदिन उंभो लाग्दैछ भन्ने नतिजा देखिनुपर्नेमा यथास्थितिमा चल्नु बाहेक संतोषजनक उपलब्धि हुन सकेको देखिँदैन। सिस्टमले चलेको ठाउँमा पात्र गौण हुन्छ । पद्धतिले पात्रलाइ कृयाशिल बनाउने हो। नेपालमा अहिले सम्म क्षेत्रगत पद्धति स्थापीत हुन नसक्नु र जो कोहि पात्र पनि पदको लागी मरिहत्ते गर्ने संस्कृतिले निरंतरता पाउनुले हामीले अझै धेरैबर्ष पछी सम्म अनुमानित शासनपद्धतिको मार खाइरहंनु पर्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ। यसो हुनुको मुल कारण भनेकै सर्वसहमतीमा राष्ट्रिय आवश्यक्ताको पहिचान हुन नसक्नु हो।जसलाई जे मन लाग्यो त्यही यथार्थ हुन सक्दैन।

राष्ट्रिय आवश्यक्ताको पहिचान र लक्ष्य निर्धारण गरिसकेपछि कुन पात्रले जिम्मेवारी लिंदा शिघ्र र अधिकतम लक्ष्य हासिल हुन सक्छ भन्ने निर्क्यौल गरि जिम्मेवारी लिने/ दिने प्रवृत्ति शुरु नभए सम्म रमितेशैलीको दिनचर्या चलिरहँने छ। अचेल प्रायः मंचमा आफ्नो सृजनात्मकताको प्रस्तुति भन्दा पनि कसैलाई गाली गर्ने बिषयबस्तु खोजेर पुग्ने संस्कार लोकप्रिय बनेको देखिन्छ।स्रोताहरु पनि नीति , नियम, भावी कार्यक्रम भन्दा धेरै यस्तै तर्कबीहिन क्षणीक रमाइलो लाग्ने गालिवादमा आनन्द लिइरहेका देखिन्छन्।

बिगतमा अपनाइएको पंचशीलको सिद्धान्त, असंलग्नताको सिद्धान्त जस्ता सिद्धान्त त आफू निम्छरो भएको बखत शक्तिशालीहरु संग बच्ने रणनीतिक चातुर्यता मात्रैको रुपमा लिएर केही कालखण्ड भित्र आफुले शक्ति संचय गरेर धक्का मार्न सक्ने तागत सहितको उपस्थिति देखाउन सक्ने बन्न सक्दा पो अर्थपूर्ण रणनीतिको रुपमा लिन सकिन्थ्यो। तर भित्र भित्रै एकले अर्कोलाई सिध्याउने चालबाजिमा पात्रहरु लागीरहँदा बिगतको भन्दा पनि कम्जोर शासकीय स्वरुपको रुपमा बुझ्दै वर्तमान शासकीय पद्धति प्रती नै बितृष्णा बढ्दै गयो भने त्यसको जिम्मेवारी कस्ले लिने? सरकार बनाउने वा सरकार ढाल्ने खेलमा रमाउनु भन्दा राष्ट्रिय सहमति र एकता सहितको दुरगामी दृष्टिकोण र नीति बन्न सकेको भए आम मानिसमा नैराश्यता वृद्धि हुने थिएन। आफ्नै भित्र गालिवाद, बाहिर गालिवाद यत्रतत्र सर्वत्र गालिवाद मौलाइरहँदा सृजनात्मक यथार्थता ओझेलमा परिरहेको छ। गालिवाद बन्द गरि यथार्थताको धरातलमा आएर समृद्धिको सपना पुरा गर्न लाग्ने पो हो कि?


अर्पण पराजुली