file photo

बकैया । मकवानपुरको बकैया तीन हात्तीसँडे स्थित बुद्ध माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच भएको विवादको छलफलमा असम्बन्धीत पक्ष आएर शिक्षकलाई डर,त्रास देखाई धम्काउने क्रियाकलाप भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन,बकैयाले गम्भिर ध्यानाकर्षण जनाएको छ ।

आज एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै संगठनका अध्यक्ष हरिहर खनालले पुस २३ गते शुक्रबार विद्यालयको अनुशासन कायम गर्ने क्रममा शिक्षक र विद्यार्थी बीचको विवादमा पुस २५ गते आईतबार दुबै पक्षलाई राखेर छलफल गर्ने क्रममा विद्यालयमा हुल हुज्जत गर्ने,शिक्षकलाई डर,त्रास देखाई धम्काउने काम भएको बताएका छन् ।

No photo description available.

घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष खनालले भनेका छन्ः दुवै पक्षबिच छलफल पश्चात सहमति भईसकेको अवस्थामा पनि घटनालाई अतिरञ्जित गरी मिडियाबाजी गर्ने लगायत कार्य भएकोले यस्ता कार्य नगराउन सबैलाई हार्दिक अपिल गर्दछ र विद्यालयमा विद्यार्थीहरुले भय रहित वातावरणमा पढ्न पाउने र शिक्षकहरुले पनि उच्च मनोबलका साथ पढाउन सक्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछ ।

सामान्य विवाद थियो दुबै पक्ष मिलिसक्यो,सत्यतथ्य नबुझि विद्यार्थी संगठनले विज्ञप्ती सार्वजनिक गर्यो:  प्रधानाध्यापक भोम्जन

बुद्ध माविका प्रधानाध्यापक प्रेम भोम्जनले विद्यार्थी र शिक्षकबीचको सामान्य विवाद रहेको र दुबै पक्षलाई राखेर सहमति भईसकेको बताए ।

खबरब्रेक संग कुरा गर्दै प्रधानाध्यापक भोम्जनले पुस २३ गते शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ प्रतियोगिता गर्ने कार्यक्रममा विद्यालयका शिक्षकले विद्यार्थीलाई अनुशासन र अनुशासन विपरित जोखिम युक्त क्रियाकलाप नियन्त्रण गर्ने क्रममा सामान्य विवाद भएको बताए ।

उनले शुक्रबार विवाद र आईतबार दुबै पक्षलाई राखेर विवाद मिलाईसकेको अवस्थामा विद्यार्थी संगठनले घटनाको अवस्था नबुझि विज्ञप्ती सार्वजनिक गर्नु विद्यार्थी संगठनको गरिमामा प्रश्न उठेको गुनासो व्यक्त गरे ।

उनले पुस २५ गने आईतबारनै अभिभावक, विद्यार्थी र विद्यालयबीच सहमति भईसकेको अवस्थामा पूर्व विद्यार्थीहरु र असम्बन्धी पक्षले अनुशासन विपरित कार्य गर्नु दुखद घटना भएको बताए ।

उनले आउँदो दिनहरुमा विद्यार्थी संगठन र संचारमाध्यमहरुलाई घटनाको अवस्था र विद्यालय सम्बन्धीत पक्षको पनि कुरा समेटर समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।