तस्विर: खबरब्रेकका लागि अनिष चौलागाई

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार बुद्ध चोक नजिक भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

बुधबार राति ९ बजे त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ को पिपलबोटमा भेटिएको उक्त शंकास्पद बस्तुलाई डिस्पोज गर्दा प्लास्टिक भित्र पोको पारेर राखिएको भात रहेको छ । राति ९ बजे जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङको टोलीले बजार गस्तीमा निस्कदा उक्त शंकास्पद बस्तु फेला पारेको थियो ।

शंकास्पद बस्नु देखिएसंगै प्रहरीले सेनाको डिस्पोज टोलीलाई खबर गर्दै सुरक्षा व्यवस्था कडा गरेको थियो । प्रदेश राजधानीको मुख्य बजारमा रातको समयमा शंकास्पद बस्तु फेला पर्दा के हो,कस्ले राखेको भन्नेमा हेटौंडामा त्रास फैलिएको थियो । प्लास्टिक भित्र रहेको उक्त बस्तु बम हो भन्ने त्रासले स्थानीयबासी त्रसित भएका थिए ।

शंकास्पद बस्तु डिस्पोज भएपछि खबरब्रेक संग कुरा गर्दै जिल्लाका प्रहरी प्रमुख गुरुङले आफुले गस्ती गर्ने क्रममा सडक नजिक उक्त शंकास्पद रुपमा देखेपछि अनुसन्धान सुरु गरिएको बताए ।

उनले उक्त बस्तु फेला परेसंगै जिल्ला प्रशासन कार्यलय प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डलेलाई जानकारी गराएर सेनाको डिस्पोज टोली मार्फत शंकास्पद बस्तु डिस्पोज गरिएको बताए ।  उनले उक्त शंकास्पद बस्तु बम नभई खाएर बढी भएको भात पोको पारेर सडक छेउमा फालिएको पाईएको बताए ।

उनले राजधानी मुख्य बजार नजिकै मुख्यमन्त्री निवास,मन्त्रालय,अदालत,सरकारी कार्यलयहरु रहेको र नजिकिदै गरेको राष्ट्रिय सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई निगरानी गर्न आफुहरु गस्ती गरिरहेको बताए ।

उनले हेटौंडाको केही क्षेत्रमा मात्र सिमित सिसिटिभि रहेको भएपनि उक्त बिग्रिएको बताउँदै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन बजार क्षेत्रको सबै सडकहरु सिसिटिभि अत्यावश्यक रहेको बताए । उनले सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन आवश्यक सिसिटिभि जडानको लागि मुख्यमन्त्री कार्यलय,हेटौंडा उपमहानगरपालिका,मकवानपुर उद्योग वाणिज्य संघ लगाएतलाई ध्यानाकर्षण गरिसकेको समेत बताए ।

तस्विरहरु :खबरब्रेकका लागि अनिष चौलागाई

यो पनिः

हेटौंडाको बुद्धचोक निजिकै शंकास्पद बस्तु फेला