स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा डोटीको जोरायलमा श्रीकृष्ण भगवान्का पदचिह्न रहेको उल्लेख छ । त्यससँगै मिल्दोजुल्दो लाग्ने पाइतालाको आकृति कुँदिएको ढुंगा हालै जोरायल गाउँपालिकाकै वडा नम्बर २ विष्णुपादुकामा भेटिएको छ । जुन श्रीकृष्ण भगवान्का दुई पाउ भएको दाबी जगद्गुरु मोहनशरण देवाचार्यले गरेका छन् । पुरातत्त्व विभागले भने त्यसको अध्ययन गरी पुष्टि गर्न बाँकी छ ।

‘१८ पुराणमध्ये श्रीमद् स्कन्ध महापुराणको मानस खण्डको १५७ अध्यायमा उल्लेख भएको भगवान् श्रीकृष्णको दुवै पाउ फेला परेको छ । यस हिसाबले यी पाउ साढे पाँच हजार वर्ष पुराना हुन्’, जगद्गुरु देवाचार्यले भने, ‘मानस खण्डमा पढेपछि फेला पर्छ कि भनेर खोज्ने सोच आयो । सात वर्षको अथक प्रयासपछि बल्ल भेटियो ।’ यस्तो अमूल्य निधि राष्ट्रमा दुर्लभ हुने जगद्गुरु देवाचार्यको भनाइ छ । उक्त स्थान फलाद्री र गरुडा पर्वतको मध्यभागमा कालंगा गंगाको किनार रहेको उनको भनाइ छ। यो नदीलाई मानस खण्डमा वीर्यवती नदी पनि भनिएको छ ।

‘हिमालदेखि तराई र पूर्वदेखि पश्चिम नेपालको चारकिल्लाभित्र श्रीकृष्णको पदचिह्न कहीँ छ भने यही मात्र छ । यो आधिकारिक र प्रामाणिक हो’, उनको तर्क छ । स्कन्द पुराणको हिमाद्री खण्ड हिमवत खण्ड र मानस खण्डले नेपालका समग्र धार्मिक क्षेत्रको व्याख्या गरेको पाइन्छ ।

मानस खण्डको १५७ को ४०, ४१ र ४२ नम्बर संस्कृतका श्लोकमा यस्तो लेखिएको छ, ‘सिद्धहरूको वाणी सुनेर भगवान् श्रीकृष्णले तथास्तु भनी सिद्धहरूसँग फलाद्री पर्वतमा चढ्नुभयो । पर्वत चढेर पार गरेपछि उहाँले फलाद्री र यज्ञपर्वतहरूका मध्ये झरेको जरासन्धको आधा शरीर देख्नुभयो । यसै ठाउँमा श्रीकृष्णले यौटा शिलामा आफ्नो पदचिह्न अंकित गर्नुभयो। सिद्धहरूले स्तुतिगान गरी बिदाइ गरेपछि श्रीकृष्ण इन्द्रप्रस्थतिर जानुभयो । भगवान् श्रीकृष्णका चरणचिह्न अंकित शिला अहिले पनि देख्न सकिन्छ। हे तपस्वीहरू हो १ यसकारण मानिसहरू भगवान् श्रीकृष्णका पदचिह्नको दर्शन गरी भीमको स्तुति गर्दछन् ।’

जगद्गुरुले आफ्नो महाकाली–मेची पैदल यात्राका क्रममा २०७२ सालमा श्रीकृष्णका पाउ ९पाइताला०को खोजी सुरु गरेका थिए ।

अन्नपूर्ण पोस्ट्