नेकपा एमालेले नेपाली भूभाग लिपुलेकमा भारतले सडकसंरचना निर्माणलाई तीव्रता दिइरहेको प्रति  आपत्ती जनाउँदै यस बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेले उक्त सडक विस्तार कार्य कुटनीतिक मर्यादाविपरित भएको भन्दै तत्काल रोक्न  माग गरेको छ । एमालेले आज एक विज्ञप्ती जारी गर्दै ‘नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडक सहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति  गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हाे ।

एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले जारी गर्नुभएको विज्ञप्तीमा  कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभाग रहेको भन्दै बलमिच्याइ नगर्न भारतसँग आग्रह गरेको छ । गत  वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको भन्दै ती भूभागहरु फिर्ता गराउन र तिनमा नेपालको भोगचलन सुनिश्चित गर्न नेपाल सरकारले विगतमा कुटनीतिक पहल सुरु गरेको एमालेले उल्लेख गरेको छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुयाउने यस्ता गतिविधि तत्काल बन्द गर्नु पर्ने एमाले जनाएकाे छ । सडकलगायत संरचना तत्काल रोक्न आग्रह गर्दै एमाललले वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्ने बताएको हो । एमालेले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा पनि वर्तमान सरकारको मौनता सन्देहास्पद रहेको भन्दै सरकारको मौनताले अनेकौं प्रश्न जन्माएको बताएको छ । ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।