file photo

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित भएका छन् । थापाले सामाजिक संजालमार्फत आफ्नो हार स्वीकार गरेका छन् ।

उनले प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् ।

साथै थापाले राप्रपा महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत बधाई दिएका छन् ।

उनले भनेका छन् – प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । बधाई छ ज्ञानेन्द्र शाह । धन्यवाद । मैले राहत र उन्मुक्ति पाएको छु सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ-कामना ।