File photo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा काेभिड भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्र रूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उनकाअनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि भएको छ । उनले ओमिक्रोन भेरियन्ट काेभिडको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताए ।

उनले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गरे । उनले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गरेका छन् ।

ओमिक्रोन भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उनले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिए ।