हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनको अध्यक्ष पदका उम्मेद्वार कमल थापाले काँचो नेतृत्वबाट सचेत हुनु पर्ने बताएका छन् ।

भृकुटिमण्डपमा जारी महाधिवेशनबाट सामाजिक संजालमा लेख्दै उनले राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गरेको त्यागलाई स्वार्थका निम्ति दुरुपयोग गरेको भन्दै उक्त कार्य निन्दनीय रहेको बताएका छन् ।

उनले भनेका छन्ः राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गर्नुभएको त्यागलाई निहित स्वार्थका निम्ति दुरुपयोग गर्नु निन्दनीय छ। “काँचो नेतृत्व”बाट सचेत रहौँ।

यसअघि जबलाले टुईट गर्दै जबराले आफु राजेन्द्र लिङ्देनको पक्षमा नरहेको स्पष्ट पारेको जानकारी दिएका थिए । उनले आफु काँचो नेतृत्वको पक्षमा नरहेको समेत बताएका छन् ।

उनले आफ्नो नाममा सामाजिक संजालमा लिङ्देनको समर्थनमा किर्ते पोष्ट देखेको बताउँदै उक्त पोष्ट झुट रहेको बताएका छन् ।

राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राप्रपाले आज नयाँ नेतृत्व पाउँदै छ ।

भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि मतदान भईरहेको छ ।

नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देन प्यानल सहित चुनावी मैदानमा रहेका छन् ।