हेटौँडा । नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशन हेटौँडाको वन विज्ञान अध्ययन सस्थान (फरेस्टी क्याम्पस) परिषरमा जारी छ । बिहिबारबाट सुरु भएको अधिवेशनको आज साँझबाट मतदान सुरु भएको छ । अहिले मतदाताहरु मतदानमा ब्यस्त छन् ।

अधिवेशन सुरु भन्दा एक दिन अघि बुधबारबाटै फरेस्टी क्याम्पसको क्षेत्रमा कांग्रेस उम्मेद्वारहरुले आफ्नो प्रचार सामग्रीहरु क्याम्पसभरी सजाएर राखेका थिए । वन विज्ञान संस्थानको मूख्य प्रशासनिक भवनलाई नै छोप्ने गरी उम्मेदवारहरुको प्रचार सामग्री ‘फ्ेक्स ब्यानर’ ढपक्क ढाकेको थियो । क्याम्पस भवन नै छोपीने गरि निर्वाचनको प्रचार गरिएको भन्दै जनस्तरबाट बिरोध समेत भएको अवस्थामा आजबाट सुरु हुने निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसको बागमती प्रदेश निर्वाचन समितिले क्याम्पस गेट भित्र चारैतिर राखिएका ब्यानरलाई हटाउन निर्देशन जारी गरेको थियो ।

तर निकै मेहनत गरेर सजाइएका ब्यानरलाई झिकेर क्याम्पसको प्रशासन भवन अघिनै ‘कच्याककुचुक’ हुने गरि फालिएको छ । केहि ब्यानरहरुलाई हेटौँडाका मुख्य बजार क्षेत्र तथा क्याम्पसको मुख्य प्रवेशद्वार अघि टाँसिएको छ ।

लाखौ रुपैँया खर्च गरेर बनाईएका ब्यानरलाई यसरी फालिदा केहि प्रतिनिधिहरुले उम्मेद्वारलाई पैसा धेरै भएको भन्ने आरोप समेत लगाएका छन् । सिन्धुली जिल्लाबाट आएका एकजना प्रतिनिधिले भने ‘चुनाव अघिनै यसरी फालिएको ब्यानरले उम्मेद्वारकै अपमान गरेको छ । ’