हेटौंडा । हेटौंडा स्थित वनविज्ञानमा जारी अधिवेशन अन्तर्गत आज बिहान ९ बजेबाट सुरु हुने भनिएको नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनको निर्वाचन साँडे २ बज्दा समेत अझै सुरु हुन सकेको छैन् ।

मतपत्र छाप्ने काम ढिलाई हुँदा निर्वाचन ढिला भएको र अझै केहि समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन पुर्वपश्चिम राजमार्ग नजिक भएको हुँदा कांग्रेस कार्यकर्ताहरुले आफ्नो निकट नेताहरुको लागि भोट माग्दै नाराबाजी गर्दा सवारी साधन आवतजावतमा समस्या देखिएको छ । प्रदेश नेतृत्वको लागि सभापतिको लागि तीन जनाको उम्मेद्वारी रहेको छ ।

सभापतिको उम्मेद्वारहरुमा इन्द्रबहादुर बानियाँ,जगदीश्वरनरसिंह केसी र भिमसेनदास प्रधान रहेका छन् ।

बानियाँ पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट,केसी र प्रधान क्रमशः रामचन्द्र पौडेल समूह र कृष्णप्रसाद सिटौला समूहबाट चुनावी मैदानमा छन् ।

अधिवेशनमा सुरक्षाको लागि मतदान स्थल,निर्वाचन कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईएको छ ।