file photo

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्।

पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो तहसम्म नेता कार्यकर्ता विभाजित भएका छन्।

पार्टीको १३औं महाधिवेशनपछि छुट्टै गुटका रुपमा उदाएको कृष्णप्रसाद सिटौला समूहको झुकाव केन्द्रमा सभापति देउवातिर देखिएको छ। स्थानीय स्तरमा भने यो समूहले आफ्नो अनुकूलतामा देउवा वा इतर पक्षसँग तालमेल गर्दै आएको छ।

पार्टीको नयाँ नेतृत्व छनोटका लागि वडा हुँदै गाउँपालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन जारी रहँदा विद्यमान गुट थप कसिलो बन्न पुगेका छन्।

प्रमुख दुई गुटबीच वडा तहदेखि नै प्रतिस्पर्धा भएको छ। कञ्चनपुर, झापासहितका केही जिल्लामा केन्द्रीय नेताको आन्तरिक प्रतिस्पर्धाले गर्दा भिन्नै खालको समीकरणसमेत देखिएको छ।

पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।

राम्रोभन्दा हाम्रो नेता खोज्ने क्रमले तीव्रता पाउँदा केही जिल्लामा कार्यकर्ता आपसमै कुटाकुटमा उत्रिएका छन्।

सभापति देउवाको गृहजिल्ला डडेलधुरामा जिल्ला सभापतिसहितका नेताको सहभागिताबिना अधिवेशन गरिएको छ। त्यसले गर्दा त्यहाँ केही तनाव भएको छ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा पनि दुई पक्षबीच झडप भएको छ। प्युठानमा कांग्रेस नेताहरूबीच विवाद हुँदा मतदान स्थलमै गोली चलेको थियो। आफ्नो पक्षमा जिल्ला नेतृत्व पार्न ओखलढुंगामा मतपत्र नै किर्ते बनाएको भन्दै विवाद भएको थियो। त्यसको असर अबको एक वर्षभित्र हुने स्थानीय, प्रदेश र आमनिर्वाचनमा पर्नसक्ने देखिएको छ।

केन्द्रीय सदस्य प्रदीप पौडेल तल्लो तहदेखि भएको प्रतिस्पर्धाले नेता तथा कार्यकर्तामा थप तिक्तता बढाउनसक्ने बताउँछन्। ‘कांग्रेसभित्रको आन्तरिक द्वन्द्व त्यसै पनि छताछुल्ल छ,’पौडेल भन्छन्,‘पार्टीभित्र थप तिक्तता आउन नदिन जित्नेले हार्नेलाई समेटेर सँगै लैजान सक्नुपर्छ।’ नभए एक वर्षभित्र हुने तीन तहका निर्वाचनमा पनि असर पर्ने उनको बुझाइ छ। ‘लोकतान्त्रिक पार्टीमा आन्तरिक नेतृत्वका लागि प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन,’ उनले भने, ‘निर्वाचन सकिनेबित्तिकै त्यसको तुष हट्नुपर्ने हो तर अहिले त्यस्तो देखिएको छैन।’

हुन त कांग्रेसमा गुटगत प्रतिस्पर्धा र राजनीति नौलो होइन। पार्टीको इतिहास जति लामो छ, गुटगत राजनीतिको इतिहास पनि उत्तिकै लामो र पेचिलो छ। नेपाली राष्ट्रिय कांग्रेस र अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस मिलेर २००६ सालमा नेपाली कांग्रेस स्थापना भएदेखि नै गुटगत प्रतिस्पर्धा हुँदै आएको छ। गुटगत राजनीतिको प्रभावमा २००७ सालको राजनीतिक परिवर्तनपछि गठन भएको सरकार मात्र होइन, २०४६ सालपछि कांग्रेस नेतृत्वमा गठन भएका सरकार पनि गिर्दै आएका छन्।

नेतृत्वमा टिक्ने र पुग्ने होडमा एकाघरका दाजुभाइ बिपी कोइराला र मातृका कोइरालाबीचको टकरावले कांग्रेस पहिलो पटक विभाजन हुन पुगेको थियो। दुई पार्टी मिलेर नेपाली कांग्रेस गठन हुँदा मातृकाप्रसाद कोइराला सभापति र महेन्द्रविक्रम शाह महामन्त्री बनेका थिए।

 गणेशमान सिंह बिपी कोइरालालाई सभापति बनाउन चाहन्थे तर महावीरशमशेर तयार नभएपछि मातृका कोइराला एकीकृत पार्टीको सभापति बनेका थिए । राणा, कांग्रेस र राजाबीच दिल्लीमा भएको सम्झौतामा पनि मातृका र बिपीबीच मतभेद थियो।

जसले गर्दा कांग्रेसमा सुरुदेखि नै मातृका र बिपीका अलगअलग गुट रहेको स्पष्ट हुन्छ। साथै,डिल्लीरमण रेग्मी, सुवर्णशमशेर राणाको पनि छुट्टै समूह थियो। त्यसको असर पार्टीले लिने हरेक निर्णयमा परेको थियो।

२०४६ को राजनीतिक परिवर्तनपछि पनि गुटको गोलचक्करबाट कांग्रेस मुक्त हुन सकेन। तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाका अलग अलग गुट कांग्रेसमा सक्रिय थिए। भट्टराई र सिंह निकट देखिए पनि कोइराला समूह भने अलग थियो।

मुुख्य दुई गुटमा रहेको कांग्रेस २०५९ सालमा फेरि विभाजित हुन पुग्यो। माओवादीविरुद्ध संकटकाल लगाउन नहुने पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा अघि बढ्दा कांग्रेस अर्को पटक विभाजित भएको हो।

२०६४ सालमा दुई कांग्रेसबीच एकीकरण भयो। तर पनि तल्लो तहसम्म फाटेको कांग्रेस जोडिन सकेन। बरु एकपछि अर्को गर्दै गुटगत राजनीति कांग्रेसमा फस्टाउँदै गएको छ। गुटकै आधारमा पार्टीभित्र मात्र होइन, राज्यका अंगहरूमा पनि भाग लिने र दिने परम्परा कांग्रेसमा विकास भएको छ। जसको फलस्वरुप यति बेला तल्लो तहको अधिवेशनमा नै गुटगत राजनीति हावी भएको छ।

नागरिक दैनिकमा खबर छ ।