हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू र आफ्नो पार्टीलाई सिध्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्न लागको भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी गरेका छन् ।

आज हेटौंडामा नेकपा (एकीकृत समाजवादी) को समाजवादी प्रेस संगठन मकवानपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै एसका स्थायी कमिटीका सदस्य समेत रहेका मन्त्री खतिवडाले कुनै पनि पार्टीले देशको कुनै पनि स्थानमा आफ्नो पार्टीको महाधिवेशन गर्न स्वतन्त्र रहेको बताए ।

शनिबार रौतहटको कटहरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी र आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गर्न लागेको बताएका थिए ।

यसैगरि,पत्रकार भेटघाटमा बोल्दै मन्त्री खतिवडाले सर्वोच्च अदालतमा बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग्दै गरिरहेको आन्दोलनको बारेमा सरकारको ध्यानाकर्षण भएको बताए । उनले सत्ता गठबन्धन दलमा अदालतको विषयमा छलफल भएको बताउँदै कानुनमन्त्रीलाई सहजीकरणको लागि जिम्मेवारी दिएको समेत बताए ।

‘हिजो अस्तीनै समाधान निस्कन्छ कि भन्ने तहमा पुगेको थियो । तर ति भित्र फेरी विवाद निस्केको छ । कसैले विदामा बसेर आफ्नो कुलमा राजिनामा दिने गरि मिलाउनु पर्छ भनेका छन्,कसैले बेन्चमा बस्न नपाउने गरि उपस्थिति जनाउने बेन्चमा नबस्ने गरि मिलाउनु पर्ने भनेका छन् । मन्त्री खतिवडाले भने,यस्तै यस्तै सुझावहरु आएका छन् । तर कुनै न कुनै ढङ्गबाट बर्हिगमनको पाटोमा नै केन्द्रीत भएर अघि बढ्ने कुरा आएको छ ।’ उनले सत्ता गबन्धन दल प्रधानन्यायाधीशको बर्हिगमन सहज होस भन्ने ढङ्गले छलफलमा केन्द्रीत रहेको बताए ।

मन्त्री खतिवडाले चैतमा स्थानीय निर्वाचन हुने सम्भावना बलियो रहेको समेत बताए । उनले निर्वाचन आयोग र सरकारबीच स्थानीय निर्वाचन गराउने विषयमा छलफल भईरहेको र आयोगले तयारी सुरु गरेको बताए । उनले सम्झौता भएको कोरोना विरुद्धको खोपहरु आईरहेको बताउँदै खोपको समस्या नरहेको बताए । उनले छिट्टैनै १२ वर्ष देखि १८ वर्षसम्मको उमेर समूहकालाई खोप लगाउने तयारी भएको बताए । उनले कोरोना संक्रमणको जोखिम कायम रहेको बताउँदै सबैलाई खोप लगाउन अनुरोध गरे ।

समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय सदस्य शिव कुमार रिजाल (काशी) को अध्यक्षतामा भएको पत्रकार भेटघाटमा नेकपा एस मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेल,सचिव विष्णुप्रसाद दाहाल लगाएतको उपस्थिति रहेको थियो ।