हेटौँडा । नेपाली कांग्रेसको आसन्न केन्द्रीय महाधिवेशनको लागि मंसिर ६ गते मकवानपुरको दुई क्षेत्रमा प्रतिनिधि छनोट तथा क्षेत्रीय अधिवेशन हुने भएको छ ।
सोहि सन्र्दभमा आज हेटौँडामा शेरबहादुर देउवा प्यानलबाट मकवानपुरको क्षेत्र नंबर १ र २ का क्षेत्रीय अधिवेशनका सभापति सहित प्यानल तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

पत्रकार सम्मेलनमा उपस्थित भएको नेपाली कांग्रेसका मकवानपुर सभापति, बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बाँनीयाले केन्द्रमा शेरबहादुर देउवा नेतृत्व अझ एक पटक आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसलाई अझ पनि एक कार्यकाल देउवाको नेतृत्व आवश्यक रहेको भन्दै उनले मकवानपुरबाट पनि सोहि अनुसारको प्रतिनिधिहरु छनोट हुने विश्वास ब्यक्त गरे । देउवाको नेतृत्वले मुलुकलाई हालको अवस्थामा ल्याउन सफल बनेको भन्दै अझ एक कार्यकाल नेपाली कांग्रेसको लागि शेरबहादुर देउवानै आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसको मकवानपुरका चार(प्रदेश क्षेत्र) मा पनि आफुहरुको लाईन अनुसारकै नेतृत्व निर्माण भएको बताउँदै उनले संघको क्षेत्रमा पनि सोहि अनुसारको नेतृत्व र प्रतिनिधि छनोट हुने विश्वास ब्यक्त गरे ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि मकवानपुरका पूर्व सभापतिहरु पनि चुनावी मैदानमा उत्रिएका छन नि भन्ने पत्रकारहरुको प्रश्नमा बानियाँले भने ‘ यो महाधिवेशन भनेको कांग्रेसका प्रतिनिधिहरुको उत्सव हो, हामी अझ मेरो नेतृत्वमा रहेको नेपाली कांग्रेसले केन्द्रमा शेरबहादुर देउवा प्यानललाई विजयी गराउने तर्फ मतदान गर्ने छ । उहाँहरुपनि देउवा नेतृत्वलाई मतदान गर्ने मनासय बनाउनुहुन्छ, अझ सार्वजनिक गर्नुहुन्छ भने सोचौँला नि ? नत्र त चुनावी प्रतिस्पर्धा हो, भाग लिन सबै प्रतिनिधिहरुले पाईहाल्छ नि ? हैन त ? ’

कांग्रेस मकवानपुरमा देउवा पक्षबाट क्षेत्र नंबर १ मा खनाल र २ मा मुक्तानको उम्मेद्वारी घोषणा