बलिउड अभिनेता राजकुमार राओ र पत्रलेखा पलबीच विवाह भएको छ । उनीहरूले बेहुला-बेहुलीको पहिरनसहित विवाह समारोहको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

राजकुमारले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै ११ वर्षदेखिको प्रेम र मित्रता अन्ततस् विवाहमा परिणत भएको बताएका छन् ।’११ वर्षको प्रेम, मित्रता, रोमान्सपछि मैले मेरी आत्मसाथी तथा बेस्ट फ्रेन्डसँग विवाह गरेको छु,’ राजकुमारले लेखेका छन् ।

दुवै परिवार, आफन्त र साथीभाइहरूको उपस्थितिमा उनीहरूको विवाह चन्डिगढमा सम्पन्न भएको हो । राजकुमारले सामाजिक सञ्जालमा पत्रलेखालाई सम्बोधन गर्दै उनको पति बन्न पाएकोमा ज्यादै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

पत्रलेखाले पनि राजकुमार नै आफ्ना लागि सबथोक भएको बताएकी छन् । पत्रलेखाले यसअघि राजकुमारसँगको प्रेमलाई जादु भएको प्रतिक्रिया दिएकी थिइन् । बलिउडका प्रभावशाली अभिनेता राजकुमार राओले ‘शहीदु’, ‘ओमेर्ता’, ‘काइ पो चे’ लगायत फिल्ममा जीवन्त अभिनय गरिसकेका छन् ।