बझाङको थलारा–३ डिख्ला पहिरोमा गगने सार्कीको परिवारका १८ सदस्य बेपत्ता छन्। उनीसँग न बस्ने घर छ, न खाने अन्न। सोमबारको पहिरोले परिवासहित सम्पत्ति स्वाहा गरिदियो। परिवार र घरवार गुमाएको पीडामा डुबेका गगनेलाई प्रधानमन्त्री शेरबहादुर देउवा आउने खबरले केही आशा पलाएको थियो। देउवा चढेको हेलिकप्टर आकाशबाटै फक्र्यो। सरकारी पक्षबाट सान्त्वना पाउने आशा निराशामा परिणत भएको उनले सुनाए।

‘प्रधानमन्त्री त आकाशबाटै हेरेर फर्कनुभयो,’ उनले भने, ‘कमसेकम घटनास्थलमा आएर हामीलाई सान्त्वना मात्रै दिनुभएको भए पनि खुसी हुन्थ्यौं।’ पहिरोले गगनेको परिवारका सात घर बगाएको छ। थलारा पहिरोमा श्रीमती, छोरा, भाइ र आमा गुमाएका नरेन्द्र पार्कीले पनि प्रधानमन्त्री पहिरो गएको ठाउँमा नओर्लिएको भन्दै गुनासो गरे। ‘हाम्रो न परिवार रह्यो, न घरबार रह्यो। सबै सकियो। हामी कहाँ जाने ? भनेर सोध्ने मन थियो, अधुरै रह्यो,’ नरेन्द्रले भने।

पहिरोमा बेपत्ता २३ मध्ये २ जनाको शव फेला परेको छ। तर, सनाखत हुन सकेको छैन। प्रधानमन्त्री देउवा आउने भनेपछि, थलाराको डिख्लामा चार/पाँच सय जना स्थानीयवासी भेला भएका थिए। थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले प्रधानमन्त्रीसँग कुरा राख्न नपाएको बताए।

‘गाउँ नै स्थानान्तरणका लागि अनुरोध गर्ने सोच थियो,’ उपाध्यायले भने, ‘तर, हेलिकप्टर हेरेरै चित्त बुझायौं।’ प्रधानमन्त्री चढेको हेलिकप्टर एक फन्को लगाएर डडेल्धुरा फर्केको थियो।

प्रधानमन्त्रीको टोलीमा रहेका पर्यटनमन्त्री प्रेम आलेले हेलिकप्टर ‘ल्यान्ड’ गर्न नसकेपछि फर्किनुपरेको बताए। ‘प्रधानमन्त्रीज्यूको इच्छा त्यहाँका पीडितहरूलाई भेट्ने नै थियो,’ उनले भने, ‘तीन/चार फन्को लगाएर अवतरण गर्न खोजियो तर जोखिम देखिएपछि आकाशबाटै हेरेर हेलिकप्टर डडेल्धुरातर्फ लाग्यो।’

प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री आलेसहित बिहीबार प्रभावित क्षेत्रको निरीक्षणमा आएका थिए। निरीक्षणमा गएको टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरका बाढी र पहिरोग्रस्त क्षेत्रमा पुगे। तर, सबैभन्दा बढी प्रभावित बझाङको थलाराका पीडितसँग भने भेट्न सकेनन्।

देउवाले डोटीको दीपायल र बझाङको चैनपुरमा प्रशासनिक अधिकारीबाट विपद्को क्षतिका बारेमा जानकारी लिएका थिए। त्यसपछि सेतीको भंगालोको चपेटामा परेको बैतडीको ढुंगाड क्षेत्र पनि गए। उनले, आफ्नो गृह जिल्ला डडेल्धुराको दह ब्यारेकमा प्रशासनिक अधिकारी र जनप्रतिनिधिहरूलाई राहत र उद्धारमा कुनै कमी हुन नदिन निर्देशन दिए। महाकाली र रंगुन खोलाको बाढीले गरेको नोक्सानको निरीक्षणका लागि देउवा डडेल्धुराको जोगबुडा पनि गए।

देउवाले कञ्चनपुरको दोधारा चाँदनीमा पनि बाढीपीडित र जनप्रतिनिधिहरूसँग भेटेका छन्। उनले, महाकालीले भुजेला क्षेत्रमा मच्चाएको वितण्डाको हवाई निरीक्षण गरे।

महाकालीले त्यहाँको चार लेन सडक बगाएको छ। निर्माण सम्पन्न नहुँदै टिकटकमा भाइरल भएकाले, त्यो सडक भाइरल रोडका नामले चर्चामा थियो। भाइरल रोडको दुई सय मिटर महाकालीले बगाइसकेको छ। सडकको पूर्वतर्फको भुजेला गाउँ पनि खतरामा परेको छ। त्यहाँ सुरक्षाकर्मीले तारजाली हालेर महाकालीलाई रोक्ने प्रयास गरिरहेका छन्।

गुरुयोजना बनाएर सम्बोधन गर्छु : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिरोबाट पीडितको समस्या समाधानका लागि सरकारले कुनै कसूर बाँकी नराख्ने बताएका छन्। दोधारा चाँदनीमा पीडितहरूको समस्या सुनेपछि देउवाले भने, ‘बाढी र पहिरोले सुदूरपश्चिममा पीडादायी घटना भएको मैले निरीक्षणका क्रममा पाएँ। गुरुयोजना बनाएर समस्याको सम्बोधन गरिनेछ। तपाईंहरू ढुक्क हुनुस्।’

अन्नपूर्णपोस्टमा खबर छ ।