file photo

हेटौंडा । दशैंमा हेटौंडा-काठमाण्डौ चल्ने सुमोहरुले मनलाग्दी भाडा असुली गर्ने लगायतका गुनासो बढेपछि बुधबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सवारी अनुगमन तथा कारबाही भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा भएको सवारी अनुगमनका क्रममा एकैदिन विभिन्न कसुरमा २७ वटा सवारीलाई कारबाही गरिएको छ । तोकिएको भन्दा बढी भाडा असुली गर्ने ना १ ज ६६२४ नंबरको सुमोबाट ९ जना यात्रुको बढी भाडा फिर्ता गरिएको छ । सुमोका चालक पदमपोखरीका २९ वर्षीय सुवास थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुमोमा सवारहरुसँग प्रति व्यक्ति ४५० का दरले टिकट काटी बाटोमा पुगेर एक हजार रुपैयाँ उठाइएपछि यात्रुको गुनासोको आधारमा प्रहरीले सुमो नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।

अनुगमन टोलीले प्रयोजनविपरीत सवारी चलाउने ७ वटा सवारीलाई जरिवाना गरी ७ हजार रुपैयाँ असुल गरेको छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ५ वटा सवारीलाई पनि कारबाही गरिएको छ । उनीहरुबाट प्रति सवारी एक हजारका दरले जरिवाना उठाइएको छ ।

कागजपत्र साथमा नराखी सवारी चलाउने ९ वटा सवारीले पनि प्रति सवारी एक हजारका दरले जरिवाना बुझाएका छन् । अन्य विविध कसुर गर्ने पाँच वटा सवारीलाई कारबाही गरी दुर्इ हजार पाँच सय जरिवाना उठाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।