हेटौंडा । मकवानपुरमा बुलेटबाट ग्याँस चोरी गर्ने मनहरीका होटल संचालक सहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको मनहरी गाउँपालिका वडा नंबर ६ नयाँबस्तीका होटल संचालक ४३ वर्षीय होटल संचालक भरत कार्की सहित एनएल ०१ एन०१३१ नंबरको ग्याँस बुलेटका चालक चुनु कुमार र यूपी–७० बीटी ९९९६ का चालक विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

मंगलबार मनहरी गाउँपालिका–६ नयाँबस्तीमा टंयाकीबाट चालकहरू र होटल सञ्चालकले मिलेर ग्यास चोरी गरेको प्रहरीले जनाएको छ ।

होटल संचालक कार्कीले बुलेट ग्याँस ट्यांकी चालकहरु संग समन्वय गरी बुलेट ग्यास ट्यांकी बाट ग्यास सिलिण्डरमा ग्यास भरी उक्त ग्यास सलिण्डर गाउँ घरमा बेच्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनिहरुलाई ग्याँस सिलिण्डर सहित पक्राउ गरिएको प्रवक्ता दासले बताए ।

कार्कीको होटलबाट कम्पनीको खाली सिलिन्डर १८ थान र भरिएको १३ थान गरी ३१ थान सिलिन्डर बरामद गरिएको प्रहरीले जनाएको छ । उनिहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।