किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले खेतमै नष्ट पारेको छ। काटेर सुकाएको पाकेको बाली झरीले बिगारेको हो। जबकि खलियानमा राख्नसम्म पनि पाएनन्। भोलि बिहान भित्र्याउन भनेर अघिल्लो दिन दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको किसान मोहम्मद अबरार खानले सुनाए।

‘हाम्रो क्षेत्रमा ५० प्रतिशतभन्दा बढी धान बालीमा क्षति पुगेको छ’, रुपन्देहीको रोहिणी गाउँपालिकाका खानले भने, ‘कसैले काटेर खेतमा सुकाएको धान बाली डुबेको छ। कसैको वर्षाले पूरै बाली ढलेको छ।’

उनका अनुसार जमिन सुक्न नपाएका कारण किसानहरू ठूलो कम्पाइन मेसिन लगाएर बाली काट्ने प्रतीक्षा गरिरहेका थिए। उक्त बालीसमेत वर्षाका कारण ढलेर डुबेको उनले सुनाए।

रुपन्देहीकै मर्चबारी गाउँपालिकाका सतनारायण कुर्मीले आठ–दस वर्षपछि धान धेरै फले पनि वर्षाले डुबाएको बताए। भने, ‘तत्कालै वर्षा रोकिएर कडा घाम लागे केही जोगिएला, नभए पुरै धान खेतमै कुहिन्छ।’

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको बागबानी विकास अधिकृत सुनेना बरालीले काटेर खेतमा राखेको धान डुब्नुका साथै पाकेका बाली ढलेर क्षति पुगेको बताइन्। भनिन्, ‘स्थानीय तहहरूबाट क्षतिको विवरण संकलन भइरहेकाले हालसम्म यकिन भएको छैन।’ यहाँका किसानले दसैंअघि धान काट्न सुरु गरेका थिए। रुपन्देहीमा करिब ६९ हजार हेक्टरमा धान खेती हुन्छ।

बर्दियाको गुलरिया नगरपालिका–१० मुक्तिनारायण टोलकी सुवरानी थारूले ठेक्का लिएको जमिनमा मजदुर लगाएर रोपाइँ गरेकी थिइन्। भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि उनी चिन्तित छिन्।

‘धान स्याहारेर साहुको ठेक्काको रकम बुझाउँछु, वर्षभरीलाई खाने धान छुट्याउँछु, बचेको धान बेचेर केटाकेटीको पढाइलगायत काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ। बेमौसमी भारी वर्षाले सबै सपना चकनाचुर पारिदियो’, थारूले भनिन्, ‘महाजनलाई कसरी ठेक्काको रकम तिर्ने ? उत्पादन त राम्रै हुन्छ तर पानीले सत्यानाश पार्छ।’

उनले गहुँ पनि पानीले बिगारेको सुनाइन्। ‘कहिले बाढीले दुःख दिन्छ कहिले वर्षाले। कसरी जीवन निर्वाह गर्ने हो ? सरकारले राहत पनि दिँदैन। दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन’, उनले भनिन्, ‘आफ्नो जग्गा छैन। ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ। काटेर खेतमा राखेको करिब १५ क्विन्टल धान खेतमै पानीले डुबायो। धान सडेर गन्हाएको छ। अब कसरी वर्षभरिको गर्जो टर्छ ?’

बर्दियाकै गुलरिया कोठियाकी मुक्तकमैया परिवार तारा चौधरीलाई अब वर्षभरि साँझ–बिहानको छाक कसरी टार्ने भन्ने पिरलो छ। ‘काटेको धान पानीले डुबायो। धेरै अनाज नोक्सानी भयो’, चौधरीले भनिन्, ‘राहतको त के कुरा, पीडित किसानलाई जताबाट पनि आहत छ।’

बेमौसमी वर्षाले १० हजार हेक्टर क्षेत्रफलमा काटेको र २५ हजार २ सय हेक्टरमा काट्ने अवस्थाको धान बालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए। ‘बर्दियाको २० प्रतिशत क्षेत्रफलको धानबालीमा पानीले क्षति पुर्‍याएको छ’, घिमिरेले भने, ‘किसानहरूले छिटो पाक्ने धान भित्र्याए पनि ढिलो पाक्ने भित्र्याउँदै छन्।’

राजापुर, ठाकुरबाबा, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकामा वर्षाले नोक्सान गरेको छ। ‘किसानलाई क्षतिपूर्ति दिने प्रावधान हामीसँग छैन’, घिमिरेले भने, ‘धान बाली बिमा गरेका किसानहरूले बिमाबाट क्षतिको भुक्तानी पाउँछन्।’ अविरल वर्षा भइरहेकाले धान नकाट्न उनले सुझाव दिए। काटेर खेतमा राखेको पानीले भिजेको धानलाई उचाँ ठाउँमा राख्न सके केही क्षति न्यून हुन सक्ने उनको भनाइ छ।

बर्दियामा ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन छ। गत वर्ष २ लाख २६ हजार मेट्रिक टन उत्पादन भएको थियो।

दाङमा आइतबारदेखि परेको वर्षाका कारण काटेको धानबालीमा ठूलो क्षति पुगेको छ। खेतमा पानी जमेपछि काटेको धान काम नलाग्ने गरी बिग्रिएको तुलसीपुर उपमहानगरपालिकाका श्यामलाल चौधरीले बताए।

जिल्ला कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्र पौडेलले अविरल वर्षाका कारण ठूलो क्षति पुगेको बताए। तर, यकिन विवरण प्राप्त भइनसकेको उनको भनाइ छ। उनका अनुसार १० वटै पालिकाका कृषि इकाइहरूमा क्षतिको विवरण संकलन गर्न आग्रह गरिएको छ। वर्षा जारी रहेका कारण कतैबाट पनि विवरण आइनसकेको सूचना अधिकारी पौडेलले बताए। दाङ जिल्लामा ३९ हजार हेक्टरमा धान खेती गरिएको छ। दसैंअघि २० प्रतिशत धान काटेको अनुमान भइरहेको पौडेलले बताए। ‘अहिले नै रकममा यति नै क्षति भयो भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘जिल्लाका सबै पालिकाहरूबाट विवरण संकलन भएपछि हामी क्षतिको विवरण सार्वजनिक गर्ने छौं।’

कात्तिके झरीले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा हजारौं बिघाको धान नोक्सान भएको छ। कैलालीको टीकापुर–८ बटनपुरका धनबहादुर सिंहले ८ बिघाको धानखेती नष्ट भएको बताए। उनले २६ बिघामा खेती गरेका छन्।

‘१८ विघामा कम्बाइन मेसिन (काटेर आफैं चुट्ने मेसिन) लगाएको थिएँ’, सिंहले भने, ‘८ बिघाको धान अलिक सुतेको थियो। हावाले सुतेको धानमा मेसिन लगाउन मिल्दैन। दसैंको भोलि काटेको थिएँ। सबै पानीमा तैरिरहेको छ।’

कैलालीकै टीकापुर–३ कटानपुरकी सुनिता चौधरीले ३ बिघामा लगाएको धान डुबेको बताइन्। ‘२ बिघा आफ्नै जग्गा छ। ६ बिघा ठेक्कामा लगाएको, ५ बिघाको मात्र कुनीयो बनाइयो’, उनले भनिन्।

कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडाकी सरस्वती भट्टको १४ कट्टाको धान खेतमै डुबेको छ। ‘पाकेको धान काटेर खेतमा सुकाएकी थिएँ, आइतबारको वर्षाले सबै सखाप पार्‍यो’, उनले भनिन्, ‘आकाशमा बादल देखेपछि धान बटुल्न थाल्यौं। एक कट्ठाको मात्रै बचाउन सक्यौं अरू पानीमा डुब्यो।’ उनी यस वर्ष उत्पादन बढ्ने आशामा थिइन्। विगतभन्दा राम्ररी फलेकै पनि थियो।

बेदकोटकै विष्णु पन्तले राम्रोसँग नपाकेको हुनाले दसैंपछि काट्ने योजना बनाएका थिए। उनी खेतमा धानका थुप्रो बनाएर थ्रेसरको खोजीमा गएका थिए। ‘दुई घण्टापछि मात्रै पनि पानी आएको भए म धान भित्र्याइ सक्थें’, उनले भने।

यस्तै, गणेश भट्टको घर आँगनमा थुपारेको धान भिजेको छ। ‘थ्रेसर सुरु भएको ५ मिनेट भएको थिएन पानी आइहाल्यो’, उनले भने, ‘थ्रेसर नपाएर धान भित्र्याउन नसकिएको हो, आज आगनै पानीले भिजेको छ।’

क्षेत्रीय कृषि निर्देशनालयले क्षतिको विवरण आइनसकेको बताएको छ। निर्देशनालयले मंगलबारसम्म मात्रै त्यसको विवरण आउने जनाएको छ।

बाँकेमा ५० करोडको क्षति
बाँकेका आठ स्थानीय तहमा ५० करोड रुपैयाँ बराबरको धान नष्ट भएको छ। तुरुन्तै घाम लाग्यो भने जोगिन सक्ने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए। ढकालका अनुसार लगातार चार दिनसम्म पानीमा भयो भने खेतमै उम्रिन थाल्छ।

‘यो वर्ष समयमै रोपाइँ भयो। अधिकांश असोजमै पाक्यो। गत वर्षभन्दा धान सप्रेको पनि थियो। किसानले बाली स्याहार्न नपाउँदै वर्र्षाले क्षति भएको छ’, ढकालले भने, ‘काटेको धान खेतमै सुकाएको बेला पानीमा डुबेको छ। नकाटेको धान पनि हावाले ढालेर क्षति पुगेको छ।’

उनका अनुसार बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ। जसमध्ये किसानले २० प्रतिशत काटेका छन्। ३ हजार ६ सय ५० हेक्टरको बाली काटेर खलिहानमा भित्र्याउन नपाउँदै दुई दिनदेखिको वर्षाले डुबाएको हो। यहाँ प्रतिहेक्टर ४.३ मेट्रिक टन उत्पादन हुन्छ। यस हिसाबले १५ हजार ६ सय ९५ मेट्रिक टन अर्थात १ लाख ५६ हजार ९ सय ५० क्वीन्टल नष्ट भएको छ।

सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ५० र मध्यमको २ हजार ९ सय २ रुपैयाँ तोकेको छ। औसत रुपमा क्षति भएको धानको मूल्य २ हजार ८ सय २७ मात्र निर्धारण गर्दा पनि ४४ करोड ३६ लाख ९७ हजार ६ सय ५० रुपैयाँ हुन आउँछ। असोजमा भएको क्षति जोड्दा झन्डै ५० करोड रुपैयाँ हुन आउँछ।

धेरै क्षति हाइब्रिडमा  
कास्कीमा चाँडो पाक्ने हाइब्रिड धानलाई वर्षाले बिगारेको छ। पोखराका हेमजा, लेखनाथलगायत फाँटमा उपज, युएस ११२ लगायत धान काटेको अवस्थामा पानी परेर डुबेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए।

लेखनाथका धेरैजसो किसानले हाइब्रिड धानको खेती गर्छन्। काटेर थुपारेका धान बेमौषमी वर्षाले बिगारेको पोखरा ३१ लेखनाथका

कमल अधिकारीले बताए। यहाँका किसानले दसैंअघि धान काट्न सुरु गरेका थिए। यूएस ११२ धान काटेर खेतमा सुकाएको अवस्थमा पानी परेपछि नोक्सान पुगेको पोखरा हेमजाका किसान हिमलाल तिमिल्सिनाले बताए।

पोखराको रैथाने धान पोखरेली जेठोबूढो हो। यो धान मंसिर दास्रो साता काट्न सुरु हुन्छ। नकाटेका धान नबिगारे पनि केही स्थानमा बोटै लडेर बिगार गरेको किसानले बताएका छन्। महानगरपालिकाका ४० प्रतिशत क्षेत्रफलभन्दा बढीमा जेठोबूढो धान लगाइने कडरियाले बताए।

जेठोबूढो धान पोखरा महानगरपालिकामा ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ। अन्य स्थानीय जातको धान २ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा लगाइने उनले सुनाए।  त्यसैगरी

उन्नत जातका धान ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा रोपीने र १७ हजार ९ सय २० टन उत्पादन हुने गरेको छ।

आजको अन्नपूर्णपोस्टमा खबर छ ।