file photo

हेटौंडा । नेपालीहरुको महान चाड दशैं,तिहार छठ पर्वमा हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ चल्ने सुमाले यात्रुहरु ठग्ने कामलाई यो वर्ष पनि निरन्तता दिएको छ ।

हरेक वर्ष सुमो व्यवसायीहरुले विशेष गरि दशैं र तिहारमा मनोमानि ढङ्गले अत्याधिक भाडदर वृद्धि गर्दै आएका छन् । यो पटक पनि सुमो व्यवसायीले आफ्नै मनोमानि ढङ्गले भाडादर वृद्धि गरेको यात्रुहरुको गुनासो छ ।

दशैं मनाउन घटनास्थापनादेखि यात्रुहरु आफ्नो कर्मथलो छोडेर जन्मथलो तर्फ आउने क्रम जारी रहेको अवस्थामा हेटौंडा काठमाण्डौ चल्ने सुमोहरुले तोकिएको भाडा दर भन्दा दोब्बर देखि तेब्बर भाडा लिएको पाईएको छ ।

सोमबार काठमाण्डौबाट हेटौंडा घर फर्किएका रमेश राईले आफुहरु सुमो चालकबाट ठगिएको गुनासो गरे । उनले चाडपर्वमा जति पनि यात्रुहरु पाईने भन्दै सुमो व्यवसायीहरुले मनोमानि भाडादर वृद्धि गरेको समेत बताए । उनले भनेः चाडपर्वको बेला छ,सबैलाई घर फर्कन् छ । सुमो व्यवसायीहरुले टिकटमा लेख्ने भाडादर एकथरि, उठाउने भाडा अर्का थरि गर्न सुरु गरे । कसलाई गुुनासो गर्नु ? छठसम्म यस्तै हुन्छ । दिनदिनै भाडा बढाउँछन् सुमो व्यवसायीहरुले ।

उनले ४ सय ५० भाडादर रहेकोमा आफु १२ सय रुपँया तिरेर हेटौंडा आउनुपरेको बताए ।

यसैगरि,सोमबार हेटौंडा बसपार्क झरेका राम लामाले पनि तोकिएको भन्दा दोब्बर भाडा तिरेर हेटौंडा झरेको बताए । उनले सुमो चालकले टिकमा एक थरि लेखेको र लिने रकम दोब्बर लिएको गुनासो गरे । उनले चालकलाई यसबारे प्रश्न गर्दा चाडपर्वको कारण भाडादर वृद्धि भएको चालकले जानकारी दिएको बताए ।

यात्रुहरुले प्रशासनले चेकजाँचमा कडाई गर्नुपर्ने बताएका छन् । उनिहरुले विशेष गरी दशैं तिहारमा चेकजाँचलाई कडाई गरे यात्रुहरु ठगिनबाट जोगिने बताए ।

यता,एक सुमो व्यवसायीले भने हेटौंडाबाट काठमाण्डौ जाँदा यात्रु नपाईने ,आउने यात्रु जतिपनि पाईने हुँदा तेल खर्च बराबर बनाउन भाडा केहि बढी लिने गरेको बताए । उनले भनेः चाडपर्वको बेला घरबाट काठमाण्डौ जाने भन्दा काठमाण्डौबाट घर फर्कने धेरै हुन्छन् । हेटौंडाबाट काठमाण्डौ रित्तैपनि जानुपर्ने हुन्छ,जसका कारण तेल खर्चको लागि घर फर्कने यात्रु संग केहि रकम बढाएर लिन्छौ ।

बागमती प्रदेश सरकारले कार्तिक १ गते देखि लागुहुने गरि सार्वजनिक यातायातको भाडा २३ प्रतिशत वृद्धि गरको छ । यातायात व्यवसायीहरुले भने लागु गर्न दिएको समय अगावै भाडादर वृद्धि गरेको छ ।

सादा पोशाकमा प्रहरी खटेको छः प्रवक्ता रिमाल

मकवानपुर प्रहरीले भने चाडपर्वको बेला बस,सुमो लगाएत सार्वजनिक यातायातबाट यात्रुहरु नठगिउन भने सादा पोशाक प्रहरी खटाएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले हेटौंडा बजार क्षेत्रमा सादा पोशाकमा प्रहरी खटाईएको जानकारी दिए ।

प्रवक्ता रिमालले तोकिएको भन्दा बढी भाडा लिने सुमोहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए । उनले सार्वजनिक यातायातले भाडा बढी लिएको अवस्थामा प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।