हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा शनिबार भएको एकदिने निःशुल्क मुटुरोग शिविरमा ६ सय ४७ जनाले आफ्नो मुटु परीक्षण गराएका छन् ।

प्रतिष्ठानको आयोजना र शहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्र बाँसबारी काठमाण्डौंको प्राविधिक सहयोगमा मुटुरोग सम्बन्धि एकदिने निःशुल्क स्वास्थ्य शिविरमा जिल्ला भित्र तथा आसपासका जिल्लाका ६ सय ४७ जना बिरामीहरुले मुटुरोग सम्बन्धी निःशुल्क परीक्षण गराएका हुन् ।

जसमध्ये २ सय जना बिरामीको इको गरिएको, ३ सय ३० जना बिरामीको इसिजी गरिएको अस्पतालले जनाएको छ ।

उपचारका लागि आएका बिरामीहरु मध्ये ३० जनालाई काठमाण्डौंमै लगेर उपचार गर्नुपर्ने खालको जटिल समस्या देखिएको बताइएको छ । त्यस्तै तीन जना बच्चाहरूको तत्काल मुटुको अप्रेसन गर्नुपर्ने समस्या देखिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य परीक्षण गरिएका मध्ये करिब ८० प्रतिशत मुटुरोगी बिरामी भेटिएको अस्पताले जनाएको छ ।