५० मिटर चिल्लो हाइवे हेटौंडामा बन्नु पर्दछ, भन्ने कुरामा कुन चाहीँ हेटौंडेलीको विमति होला र ? छैन पनि। तर आज भत्किने भोलि भत्किने भन्ने हल्लै हल्लाले चिन्तित बुद्धचोक भने ‘मलाई नभत्काई हेटौंडाको विकासै नहुने हो त ?’ भनी प्रश्न गरिरहेको प्रतित हुन्छ ।

हेटौंडा बजारले सडक अतिक्रमण गरेको हो कि ? सडकले बजार अतिक्रमण गरेको हो ? बिना मुवाब्जा जनताको ब्यक्तिगत सम्पत्ति सरकारले अधिग्रहण गर्नु कत्तिको न्यायोचित होला ? पूर्वाधार विकास गर्न पुरानो संरचना भत्काउनै पर्छ भन्ने हो र ? भारतको राजधानी दिल्लीका सडक गल्लीहरु साघुरो भए भनेर भत्काएनन बरु नयाँ दिल्लीको निर्माण गरे । बिहारको पुरानो साघुरो पटनालाई त्यसै छाडी नयाँ पटनाको निर्माण गरे।

सहर बजार भत्काएर सडक बनाउन आर्थिक रूपमा धेरै खर्चिलो त हुन्छ हुन्छ, समय पनि बढी लाग्छ र वरपरका जनजीवनलाई वातावरणिय प्रदुषणले लामो समय प्रभाव पार्ने देखिन्छ । नव-निर्माण गरेर पो विकास सरल र छरितो होला। जेसिबि एउटा शक्तिशाली मेसिन हो । यसले दुई हप्ताभित्र हेटौंडा बजारको सडकका दायाँबायाँ २५ मिटर भित्रका घर भत्काई सक्ला तर पुनस् निर्माण गर्न जेसिबि एक्लैले सक्तैन । दशथरीको समन्वय आवश्यक हुन्छ । समयमा बजेट चाहिन्छ । ठेकेदार इमानदार र समयनिष्ठ हुनुपर्छ । घर घरका धारा भत्किन्छ्न, नाला भत्किन्छन । बिजुलीका नयाँ तार तान्नु पर्छ आदि आदि ।

बजार भत्काएर ५० मिटर चिल्लो बाटो बनाउन १० वर्ष बढी लाग्न सक्दछ । कहिले बजेटको अभाव, कहिले ठेकेदारको ढिलासुस्ती, कहिले बिजुली पानी कार्यालयको अकर्मण्यता आदि कारणहरुले दशक लामो अवधीसम्म भत्किएका संरचनाहरुबाट उड्ने धुलोहरुबाट सहरको वायु प्रदुषण कत्तिको बढ्ने हो ? भुक्तभोगी टाडी, चितवनवासिलाई नमिठो अनुभव छ। टाडिमा कुनै एक घर भत्काउनु परेको थिएन, ५० मिटर सडक क्लियर थियो । बिच बजारमा हाइवे निर्माण गर्दा त्यहाँका जनजीवन धेरै समय धुलो धुवाँ र हिलोले पीडित भएका थिए ।

हेटौंडामा दुबै तर्फ असंख्य घरहरु भत्काएर अहिले कै यातायात चापको व्यवस्थापन कसरी हुने हो ? चारै दिशाबाट अग्लो जग्गामा बसेको करिब ७० वर्ष पुरानो दुर्लभ सहर बजार भत्काएर हाइवे बनाउने सोच दुर्भाग्यपूर्ण लाग्दैन ?

यस सम्बन्धमा मेरो फरक बिचार छ । मलाई त हेटौंडा बजार भत्केमा विकास होइन बिनास पो हुने हो कि जस्तो लाग्छ । चारै दिशाबाट अग्लो जग्गामा रहेको यो बजारमा हरियाली पनि छदैछ, बरु हेटौंडा बजारको बुद्धचोक वरपरको क्षेत्रलाई  ‘वाक, सप र रिलाक्स स्पष्ट’ को अवधारणामा विकास गरि हाइवे अन्यत्रबाट डाइभर्ट गरेमा हेटौंडा बजार एउटा आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने ठूलो सम्भावना देखिन्छ । बुद्ध चोकमा हाइवे होइन नो डष्ट-नो स्मोक-नो साउन्ड जोन को रूपमा बिकास गरि फूल, फाउन्टेन, फूड कोर्ट, फेसन र कपडाको गन्तव्यको रूपमा नयाँ ढंगले बजार आर्किटेक गरि एक आकर्षक पर्यटन क्षेत्रको रूपमा विकास गर्नु पर्दछ ।

सहिद स्मारक, मकवानपुर गढी, चिसापानी ,मुर्ति बगैचा आदि पर्यटकिय क्षेत्र र थुप्रै धार्मिक गन्तव्यमा प्याकेज टुरको सेल काउण्टर यहीं राख्न सकिन्छ । हेटौंडा बजारको आधुनिकीकरणमा बाधक रहेको २५ मिटरको आतंकलाई सधैंको लागि हटाउन वैकल्पिक राजमार्गको सम्भावनाको खोजी र विकास तत्काल शुरु गर्नु पर्दछ । हेटौंडालाई छिमेकी जिल्लाहरू, तराई र सीमावर्ति भारतीयहरुको प्रमुख पर्यटन र सपिङ्ग गन्तव्यको रुपमा विकास गर्न निजि क्षेत्रलाई बाटो खुला गरि दिनु पर्दछ । हाम्रो हेटौंडा, राम्रो हेटौंडा भनाइलाई यथार्थमा सबै मिलि चरितार्थ गरौं ।


सुदर्शन अधिकारी