मकवानपुर । सरकारले पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको छ ।

गृह मन्त्रालयले संविधान दिवस २०७८ को अवसर पारी विभिन्न क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गरिने उल्लेख गरेको छ । अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् ।

२०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।

मनकामना एफएम, नेशनल एफएम, पाल्पाको रेडियो पश्चिमाअञ्चल, रेडियो सगरमाथा, शक्ति एफएम, रेडियो सरोवरलगायतका एफएम रेडियोको रिपोर्टर, समाचार प्रमुख र सम्पादकको रुपमा उनले काम गरेको अनुभव बटुलेका छन् । अधिकारीको अक्षरका जुलुसहरु, इतिहास र लाल झा र २५ प्रतिवाद नामक कविता संग्रहहरु प्रकाशित भएका छन् । उनले मकवानपुरे पत्रकारिता (इतिहास र समिक्षा) नामक अनुसन्धानमुलक पुस्तकको सम्पादन गरेका छन् ।

अधिकारी गीत लेखनमा समेत सक्रिय छन् । उनलाई प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार प्रदान गरिसकेको छ । त्यस्तै उनी राष्ट्रिय सूचना आयोगको प्रादेशिक सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लबको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाटसमेत पुरस्कृत भएका छन् ।