आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा ओमानले नेपाललाई पराजित गरेको छ । ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १९७ रनको लक्ष्य पछाएको ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । ओमानका लागि जितिन्दर सिंहले शतकीय पारी खेलेका थिए । जितिन्दरले ६२ बलमा १०७ रन बनाएर आउट भएका थिए । त्यस्तै मोहमद नदीमले अविजित ३८ र सुरज कुमारले २० रन बनाएका थिए । त्यस्तै आयान खानले १८ रन बनाएका थिए ।

नेपाली बलर कुशल मल्ल र करण केसीले २-२ विकेट लिए भने सुशान भारीले एक एक विकेट लिएका थिए । यस खेलमा सन्दीप लामिछाने अस्वस्थ भएपछि बलिङ गरेका थिएनन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४७.४ ओभरमा अल आउट हुदो १९६ रन बनाएको थियो । नेपालका लागि आसिफ सेखले सर्बाधिक ९० रन बनाएका थिए । आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय खेलको आफ्नो पहिलो अर्धशतक बनाउदै उत्कृष्ट ब्याटिंग गरेका थिए । राम्रो लयमा देखिएका आसिफ शतक बनाउन भने १० रनले चुकेका छन् ।

त्यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र करन केसीले २१-२१, रोहित पौडेल २०, सन्दीप लामिछानेले १६, कुशल भुर्तेल ०, विनोद भण्डारी ६, सोमपाल कामी ७ रन, कुशल मल्ल ४, बिक्रम सोब २ रन बनाएर आउट भए । त्यस्तै ओमानका बलर बिलाल खानले ४ विकेट लिए भने नेस्टोर धम्बाले २ विकेट लिएका थिए ।

यो जितपछि ओमानको ११ खेलमा ९ जित र २ हारसहित १८ अंक भएको छ र ओमान शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालको भने ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक रहेको छ । अब नेपालले आगामी शुक्रबार अमेरिकाविरुद्ध खेल्ने छ ।