काठमाडौँ । आइसीसी सीडब्लुसी लिग-२  अन्तर्गतको त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछाएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ८४ रन बनाएका थिए । कुशलले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ८४ रन बनाएर आउट भएका थिए । योसँगै तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुशल भुर्तेलले पहिलो अर्धशतक बनाएका छन् ।

नेपालका लागि रोहित पौडेलले जिम्मेवारीपूर्ण ब्याटिंग गर्दै अर्धशतक बनाएका थिए । रोहितले धैर्यतापूर्ण ब्याटिंग गर्दै ७९ बलमा अर्धशतक पुरा गरेका थिए । रोहितले अविजित ८७ बलमा ६२ रन बनाएका थिए ।  त्यस्तै विनोद भण्डारीले ३७ रन बनाएर आउट भएका थिए ।  त्यस्तै आसिफ सेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७ र कुशल मल्ल १ रन बनाएर आउट भएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाउदै २३० रन बनाएको थियो । अमेरिकाका लागि मोनांक पटेलले शतकीय पारी खेलेका थिए । मोनांकले ११४ बलमा १०० रन बनाएर आउट भएका थिए ।

त्यस्तै अमेरिकाका लागि निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टिभन टेलरले १४, नोस्थुश केनिज्गे, अभिषेक पराडकर र संजय क्रिश्नामुर्तीले १३-१३ तथा जसकरण मलहोत्राले ११ रन बनाएका थिए । त्यस्तै नेपाली बलर विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारीले २-२ विकेट लिएका थिए ।

सन्दीपले १० ओभरमा २ मेडन ओभरसहित ३५ रन दिएर २ विकेट लिए भने सुशानले १० ओभरमा ३१ रन दिएर २ विकेट लिएका थिए । त्यस्तै बिक्रमले ६ ओभरमा ३३ रन दिएर २ विकेट लिएका थिए । त्यसैगरी कुशल मल्लले एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटबाट प्राप्त गरेको थियो ।  नेपालले अर्को खेल मंगलबार ओमानविरुद्ध खेल्ने छ ।