file photo

भारतको राजकोटमा २३ वर्षीय एक पुरुषलाई पत्नीले ससाना कुरामा किचकिच गरेर दिक्क लगाएपछि उनले अनौठो काम गरेका छन् ।

पत्नीबाट टाढा रहनका लागि उनी कारागारमा बस्न चाहन्थे । त्यसका लागि उनले जामनगरमा रहेको एक प्रहरी चौकीमा आइतवार अपराह्न आगो लगाउने प्रयास गरेका थिए ।

देवजी चावडा नामक ती व्यक्तिले चौकी जलाएपछि भाग्ने कोशिश नगरी त्यहीँ बसेका थिए । आफू पक्राउ पर्न चाहेको उनले बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।  घटना बजरंग वादी प्रहरी चौकीमा अपराह्न ४ बजेतिर भएको हो । चावडा प्रहरी चौकीको ठ्याक्कै अगाडिको घरमा बस्छन् ।

उनी चौकीमा मट्टीतेल लिएर गएका थिए र आगो लगाएका थिए । केही व्यापारीहरूले चौकीमा आगो लागेको देखे अनि प्रहरीलाई खबर गरे ।

‘चौकी बन्द भएकाले कोही पनि घाइते भएन,’ प्रहरी निरीक्षक खुमानसिंह भालाले बताए ।

चावडा घटना भएपछि चौकीमै बसिरहे । प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले पत्नीबाट हैरान भएको र जेल जान चाहेको बताए । कम्तीमा त्यहाँ खाना खान त पाइन्छ, उनले भने ।  प्रहरीका अनुसार, ती व्यक्ति दैनिक ज्यालादारी मजदूर हुन् ।