सत्तामा पुग्नु नै कम्युनिस्ट आन्दोलनको लक्ष्य हो र ? चुनावमा जित्नु नै कम्युनिस्ट आन्दोलनको सफलता हो ? कम्युनिस्ट र गैर कम्युनिस्ट बीच सोच, आचरण र शैली फरक हुन्छन् कि हुदैनन ? अचेल आम सचेत नागरिकको मनमा यस्ता प्रश्नहरु बर्गेल्ती आइरहेका छन ।

नारामा दुखी, गरिव र सर्वहारालाई केन्द्रित गर्ने अनि व्यबहारमा ‘आसेपासे गोल चक्करम’ को अभ्यासले राज्य सत्ता चलाउने सर्वोत्तम विधिको रुपमा ब्याख्या गरिएको वामपन्थी सत्ता अभ्यासप्रति नैराश्यता वृद्धि भैरहेको छ। सत्तामा पुगेपछि आफैंलाई सर्वज्ञाता सम्झने परम्परागत सोच अझै तोडिन सकेको देखिँदैन ।

नयाँ पुस्ताले त पार्टी स्कुलिङ भनेको नै शक्तिशाली नेताको अघिपछि लाग्न सिक्नु हो, भन्ने बुझ्न थालेका छन् । जसले अघि पछि लागेर आफ्नो प्रशंसा गर्दिन्छ, उसैलाई प्यारो र काम लाग्ने मान्छे सम्झेर खुशीको केक काट्दा वरिपरि बसेर ताली बजाउन निमन्त्रणा गर्ने र दुस्खको समवेदना लेखेर सामाजिक संजालमा ट्याग र शेयर गर्ने प्रवृत्तीले नेताहरु आफैं साँघुरिँदै गएको महसुस कहिले गर्ने नेताहरुले ? पार्टीको कमिटीमा जिम्मेवारी पाउनु र चुनावमा टिकट पाउनु नै सफल र ठुलो नेता सम्झँने सोचले ‘वर्ग शत्रु खत्तम अभियानदेखि सशस्त्र बिद्रोह र संयुक्त जनआन्दोलन’सम्मको वामपन्थी यात्रालाई धरापमा पारेको कहिले बुझ्ने ?

केहि महिना यता ब्यक्तिगत टकरावले आन्दोलन धरापमा परेको छ। जनता झण्डा र बोकेर जिन्दावाद र मुर्दावाद भन्दै सडकमा ओर्लेका छन तर यो आन्दोलनमा राष्ट्रियताको मुद्दा छैन, जनजीवीकाको मुद्दा छैन, आर्थिक नवनिर्माण र सामाजिक रूपान्तरणको बिषय पनि आन्दोलनको कारण होइन। अर्को पार्टीलाई तारो बनाएर नारा लगाइएको पनि छैन। समर्थन र बिरोध दुबैको बिषय आफ्नै पार्टी र पार्टीका ब्यक्तिहरु छन। यो सबै कुरा हेर्दा नेकपा कि बिचार मिले पनि नमिले पनि जवर्जस्त जोडिएका मानिसहरुको भिड रहेछ भन्ने बुझियो कि पार्टीको सिद्धान्तले सबैलाई जोड्न सकेको रहेनछ भन्ने बुझ्न पर्यो।

जसले जसरी विश्लेषण गरे पनि नेताहरुको ब्यक्तिगत चरित्र नै नेकपा भताभुङ्ग हुनुको मुख्य कारण बन्यो । मान्छे जतिसुकै ठुलो पदमा पुगे पनि लोभ, अहंकार, अबिश्वास जस्ता बिकार भुल्न सक्दैन रहेछ । नेतृत्वमा रहँने ब्यक्तिको सानो सानो निर्णयले पार्टी र बर्षौंदेखी समृद्द समाजको परिकल्पनामा रगत पसिना बगाइरहेका नेता कार्यकर्ताको भावनामा कति चोट पर्छ भन्ने नेताहरुले अनुमान नै गर्न सकेनन्।

पार्टीको निर्माण र संगठन बिस्तार ब्यक्तिगत फाइदाको लागि हुँदै होइन तर प्रायः नेताले ब्यक्तिगतरुपमा आफू शक्तिशाली बन्न मात्रै राजनीति गरेको जस्तो गरिरहेका छन। यस्तो अवस्थामा न पुराना सहयात्रीको मन जित्न सकिन्छ न नयाँ युवालाई आकर्षित गर्न सकिन्छ । लोभी, अहंकारी र अस्थिर नेताको जुँगाको लडाइँले नेकपाको घर त भत्कियो नै बिस्तारै चुनावमा धेरै सिट भएको कम्युनिस्ट प्रतिपक्षमा बस्नु पर्ने र थोरै सिट जितेको गैर कम्युनिस्टले सत्ता चलाउने परिस्थिति आयो ।

घरको कुरा सकेसम्म बाहिर भन्नू हुन्न, बाहिरकाले अरुको घरको पीडा सुन्दा आनन्द मानिरहेका हुन्छन् र मौका पर्दा त्यहि कुरालाई अस्त्रको रुपमा प्रयोग गर्दछन । ओलिको अहंकार, माकुनेको लोभ र प्रचण्डको अस्थिर स्वभावले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली जनताको सपना माथी गतिलो तुषारापात भएको छ।

महाधिवेशनको प्रतिवद्धता, संसदीय पद्धतिको मर्म र सहयात्राको वाचा कसम सबै माथी प्रश्न चिन्ह खडा भएको छ। ओलि, प्रचण्ड र माकुने नामका तीन बाघ एकैसाथ सिंहदर्वारमा कुर्लँदा अब पालो सकिएछ झैँ गरि छेउछाउ बसेकाहरु तीन बाघ तीन तिर लागे पछि दोबाटोमा ढुकेर जुन बाघ पहिला आउँछ, त्यसैलाइ सिध्याउने मनस्थितिमा रहेको झैँ महसुस हुन्छ । ब्यक्ति भन्दा पार्टी ठुलो हुन्छ र पार्टीको मुटु भनेकै नीति, बिधि, सिद्धान्त र जनआकाँक्षाको सम्बोधन हो।

अहिले नेपाली कम्युनिस्ट पार्टीमा ‘भोलि एकादशी छ आजै खाइ सकुूँ’ भन्ने मानसिकताले स्थान पाएको प्रष्ट देखिन्छ। सत्ता साध्य होइन साधन हो, संगठन बिस्तार र वर्गबीहिन समाजको लक्ष्यमा पुग्न जोडबल पुग्ने माध्यमको रुपमा सत्तालाई लिनु पर्नेमा अहिले त सारा अभियानको लक्ष्य नै सत्तामा रमाउनु जस्तो देखिन्छ।

नेताको ब्यक्तिगत टकरावले पार्टी त ध्वस्त भयो भयो नै, बाँकी नेता कार्यकर्ता र जनताको नैराश्यताले कम्युनिस्ट आन्दोलनको कद घटाउँदैछ। अरुलाई थर्काउने, घुर्की लाउने, लाए अराएको खुरुखुरु मान्नेको हुल जम्मा पारेर पार्टी त चल्छ होला तर तेस्तो पार्टीको लक्ष्य सत्ता प्राप्ति मात्रै हुन्छ। हिजोदेखि जनतालाई देखाइएको सपना थुप्रै छन। घरवारविहीन मानिस ब्यबस्थापनदेखी सामाजिक रूपान्तरण र आर्थिक नवनिर्माणको क्षेत्रमा गर्नु पर्ने थुप्रै कामहरु बाँकी छन । गतिलो कुलो, गतिलो कुवा, घाँस दाउरा बोक्न सजिलो बाटो, खोलो पहिरो रोक्न तारजालीको ब्यबस्था यस्तै यस्तै त छ नि जनताको माग१ तर बर्षौँ देखि ‘उहि नारा र उहि पारा’ले परिवर्तन एकादेशको कथा जस्तो मात्रै भएको छ।

नेपालमा कम्युनिस्ट आन्दोलन भुत्ते हुनुको कारण नेताको ब्यक्तिवादी सोच हो। सामुहिक निर्णय, ब्यक्तिगत जिम्मेवारी भनेर कार्यकर्तालाई सिद्धान्त घोकाउने अनि आफू चाहिँ स्वेच्छाचारितामा रमाउने नेताहरुको व्यबहारले भुत्ते बन्दै गएको आन्दोलनलनमा समयमै धार नलगाउने हो भने, कम्युनिस्ट र गैर कम्युनिस्टमा व्यबहारगत फरक नदेखिने हो भने दुखी गरिव जनताको आँशुले पोल्ने छ कम्युनिस्टलाई । आर्थिक रुपले मध्यमबर्गीय र चेतनाको दृस्ठिले शिक्षितहरुको संख्या वृद्धि भैरहेको सन्दर्भमा समाज पुजिवादीहरुकै हातमा छोडेर वर्गीय खाडल जस्ताको त्यस्तै बाँकी राख्ने कि आफू सचिएर समाज रूपान्तरण गर्ने हिजोका सेल्टरदातालाई आजका नेताहरुले जवाफ दिनु जरुरी छ।

नेपालमा अझै केही दशक बैकल्पिक पार्टीहरुले पकड जमाउने सम्भावना छैन। कांग्रेस र कम्युनिस्टकै वरिपरि सत्ता घुमिरहँन्छ। बैकल्पिक पार्टीको स्पष्ट सिद्धान्त र कार्यदिशा देखिदैन बरु मनको तुष मेट्न, बदला लिन र रमाइलोको लागि राजनीति गरेको जस्तो रुपमा प्रस्तुत हुने त्यो पनि प्रणालीगत रुपमा होइन कि मुद्दागत रुपमा मात्र प्रस्तुत हुने शैलीले आम जनताले अझै बिश्वास गर्न सकिहाल्ने अवस्था छैन।

कम्युनिस्टहरुले सर्वप्रथम ‘पार्टी नामको नांग्ले पसल राखेर साहुजी बन्ने’ चाहना त्याग्नु पर्छ । महाधिवेशनमा बैचारिक लडाइँ गर्ने र महाधिवेशन पश्चात् एकमत भएर पार्टीको काममा लाग्नु पर्छ। गुटगत स्वार्थले कसैलाई फाइदा पुग्दैन रहेछ भन्ने त महसुस भएकै छ। कसैको पक्ष विपक्षमा नलागी सत्य र यथार्थको पक्षमा लाग्ने कार्यकर्ता निर्माण गर्नु जरुरी छ।

अहिले कार्यकर्ता पार्टीको भन्दा नि ब्यक्तिको धेरै छ्न जसले आन्दोलन कमजोर भै यथास्थितिवादी, प्रतिक्रियावादी र स्वार्थले पार्टीमा जोडिनेहरुले फाइदा लिइरहेका छन । नेपालमा सबै कम्युनिस्ट एकातिर र बाँकी दल एकातिर हुने अवस्था नभएसम्म दुखी गरिवहरुको दिन फिर्ने छैन र शक्तिशाली संगठन निर्माण गरि बर्गविहिन समाज निर्माण गर्ने चाहाना परिकल्पना मात्रै हुने छ । युवा पुस्ताले अन्धभक्त भएर ब्यक्तिवादी सोच र गतिविधिलाई समर्थन र बिरोध गर्नु भन्दा पनि आलोचनात्मक चेतको बिकास गर्न सक्नु पर्छ। नत्र न राजनीति सुध्रिन्छ न समाज नै सुध्रिन्छ।


अर्पण पराजुली