सिरहा । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार। तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो। उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ।

सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन। उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ। लालपुर्जा छ। जग्गा छैन। फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ। बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन्। लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए। घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए।

‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो।’

पहिले–पहिले गाउँको उत्तरपूर्वबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो। छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस। ‘तर, २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो। नदीले गाउँतर्फ कटान गर्न रोकेन। पाँच वर्षपछि फेरि बलानले सैयौं बिघा खेत डुबायो,’ तिलबोनाका अमरलाल यादवले भने, ‘डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन। प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन सक्दा वर्षैपिच्छे यहाँको खेत नदीले निल्दैछ।’ यसवर्ष मात्रै १० विघा भन्दा बढी जग्गा नदीमा मिसिएको उनले सुनाए।

बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ। पछिल्लो पटक आएको बाढीले नदीको पश्चिमी किनार कटान सुरु गरेको छ। चुरे मूल भएको बलान नदी त्यत्तिकै विनाशकारी बनेको होइन। चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको यस क्षेत्रका स्थानीय बताउँछन्।

बलान नदीले पछिल्लो समय धार परिवर्तन गरी पश्चिमतर्फ हानिँदा भगवानपुर गाउँपालिकाका १ र ४, सखुवानन्कारकट्टीका ५ र ४, लहान नगरपालिकाका–२३ जोखिममा परेका छन्। एक साताअघि बलान नदीको बाढीले यी वडाहरूको कैयौं बिघा खेतीयोग्य जमिन कटान गरेको स्थानीयको अनुमान छ।

गत वर्ष तिलबोना गाउँ नजिकै बलान नदीमा तटबन्ध निर्माण गरिएको थियो। स्थानीयका अनुसार काम गुणस्तरहीन हुन थालेपछि उनीहरूले रोकेका थिए। ‘पछि नेताहरूले मिलाएर काम गर्‍यो तर, ठोस काम भएन। यही वर्षको पानीले उक्त तटबन्ध बगायो र जग्गा कटान गर्‍यो,’ स्थानीय महेन्द्र यादवले भने, ‘काम गर्ने पैसा खायो। दुःख हामीले भोग्दैछौं। हामीलाई सरकारसँग ठूलो माग छैन। तटबन्ध गरेर खेती योग्य जग्गा बचाइदियोस्।

हामी यही जग्गामा अन्न उब्जाएर गुजारा गर्छौं।’ यो ठाउँमा गत वर्ष प्रदेश २ का तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल तामझासहित निरीक्षण गर्न आएका थिए। तर, भाषणमा भनेअनुसार कुनै तटबन्ध निर्माण गर्ने योजना नआएको स्थानीयले सुनाए। शनिबार फेरि त्यही ठाउँमा नयाँ भौतिक पूर्वाधार तथा योजनामन्त्री रामसरोज यादव दलबलसहित निरीक्षणमा पुगेका थिए। तत्काल केन्द्र र प्रदेश सरकारबाट उपलब्ध बजेटले मर्मत गर्ने र दीर्घकालीन रूपमा नदी नियन्त्रणको लागि व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाएका छन्।