बकैयाको बान्द्रे खोलामा निर्माण सम्पन्न भएको बेलिब्रिज

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ र ११ जोडने बान्द्रे खोलामा पुल (बेलिब्रिज) निर्माण सम्पन्न हुँदा स्थानीय हर्षित भएका छन् ।

बकैयाको वडा नंबर ४ लाई वडा नंबर ११ सँग जोडने महत्वपूर्ण कडीको रुपमा रहेको बान्द्रे खोलाको पुल निर्माण सम्पन्न भएसंगै स्थानीयलाई बकैयाबाट काठमाण्डौँ जानको लागि थप सहज हुने भएको बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताइन् ।

बागमती प्रदेश सरकार र स्थानीय बकैया गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको फलामे पुलबाट स्थानिय लाभान्वित हुने भएका छन् । कुल १ करोड ३० लाख रुपैँया लागतको उक्त पुलमा गाउँपालिकाको ८० लाख रुपैयाँ र बागमती प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेट रहेको उपाध्यक्ष बोलखेले बताइन् । उक्त पुल २६ मिटर लामो र ६ मिटर चौडा रहेको छ ।

पुल निर्माणपछि बकैयाबाट काठमाण्डौँ जानको लागि थप सहज हुने पुल निर्माण समितिका अध्यक्ष दुधबहादुर न्यासुरले बताए । बर्षातको समय सुरु हुनासाथ बकैयाको केन्द्रमा सम्वन्ध विच्छेद भएर बस्नुपर्ने वाध्यतालाई हटाएको न्यासुरको भनाई रहेको छ ।

ठिंगनमा पुगेपछि कान्तिलोकपथसँग जोडिने उक्त सडकमार्गले बकैयावासीलाई काठमाण्डौँसँग थप नजिक बनाउने बोलखेले बताईन् ।बैशाखबाट पुल निमार्ण सुरु गरिएको र असार मसान्तसम्म बनाईसक्नुपर्ने भएपनि वर्षाका कारण पुलको सामान आउन समय लागेपछि निर्माण सम्पन्न केही दिन ढिला भएको उनको भनाई छ ।

काठमाडौं जान तथा हेटौंडा आउनका लागि प्रयोग हुँदै आएको उक्त सडकखण्डमा लामो समयदेखि पुल नबन्दा स्थानीयले सास्ती झेल्दै आएका थिए । अन्य समय खोलाबाट नै आवतजावत गरिने भएपनि बर्षायाममा खोलामा बाढी आएर बाटो नै बन्द हुने गरेको थियो ।

पुल बनेपछि भने स्थानीयका साथै गाउँपालिकाबाट ठिङ्गन हुँदै काठमाडौं जाने सुमोहरु निर्धक्क रुपले चल्ने भएका छन् ।