हेटौंडा । बागमती प्रदेशका यातायात सम्बन्धी कर र राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने भएको हो। यसको थालनी प्रदेश सरकारले सुरु गरिसकेको छ।

भुक्तानी गर्न सधैँ लामो लाईनमा बस्नुपर्ने सेवाहरुमध्ये यातायत विभाग पनि रहेको थियो। सरकारले सुरु गरेको अन्लाईन भुक्तानीले लाईनमा नै बसेर काउन्टरमा भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य गरेको छ।

प्रदेशको वेवसाइटमा गई सवारी धनी लग–इन् पोर्टलमा आफ्नो युजरनेम र पासवर्ड राखी लग–इन् गर्ने र आफ्नो साधन सम्बन्धी जानकारी प्रविष्ट गरी भुक्तानी विकल्पको रुपमा कनेक्ट आइपीएसलाई छनोट गर्नु पर्छ।

कनेक्ट आइपीएसको युजरनेम र पासवर्ड प्रयोग गरी लग–इन् गर्ने र भुक्तानी गर्ने बैंक खाता छनोट गरी ट्रान्जेक्सन पासवर्ड वा ओटीपी प्रयोग गरी बैंक वित्तिय संस्थाको खाताबाटै सजिलै भुक्तानी सम्पन्न गर्न सकिन्छ।

भुक्तानी गरिएको रसिद प्रिन्ट गरी त्यो रसिदमा रहेको क्युआर स्क्यान गरी सवारी सम्बन्धी सम्पूर्ण जानकारी पनि प्राप्त गर्न सकिन्छ।