photo : bakaiya gaupalika facebook grup

बकैया । नेपाल विद्युत प्राधिकरण विना जानकारी दिनभर बिजुली काटन् थालेपछि हेटौँडाको चौघडाबाट पूर्व हटिया, हर्नामाडी सहित बकैया तथा बागमती गाउँपालिकाका जनता मारमा परेका छन् । प्राधिकरणको चरम लापरबाहीको कारण उक्त क्षेत्रका जनताहरु गर्मि मौसममा थप मारमा परेका हुन् ।

प्रत्येक दिन बिहान १० बजेबाट काटिने बिजुली एकैपटक साँझ ६ बजे आउने, साँझ आएको बिजुली पनि पटक–पटक कट्ने हुँदा त्यस क्षेत्रको मानिसहरुको दैनिक जीवनमा नै समस्या ल्याएको हो ।

आजबाट बकैया गाउँपालिका वडा नंबर ४ मा सुरु भएको राष्ट्रिय परिचयपत्र बनाउने शिबिर पनि विद्युत नहुँदा पुरै प्रभावित बन्यो । परिचयपत्रको लागि तस्बिर खिच्न तथा नागरिकता, राहदानी स्क्यानिङको लागि निकै डाढाबाट वडा कार्यलय आएका नागरिकहरु दिनभरी बत्तिको प्रतिक्षामा बसेर साँझ घर फर्केका थिए ।

खबरब्रेकलाई प्रतिक्रिया दिँदै बकैया गाउँपालिका वडा नंबर ४ का वडा अध्यक्ष राजन दंगालले भन्छन ‘पछिल्लो केहि महिनाबाट बकैया क्षेत्रमा हामी अघोषित लोडसेडिङको मारमा परेका छौ, यसबारे हामीले जिल्ला प्रशासन कार्यालय मकवानपुर सहित विद्युत प्राधिकरणलाई समेत जानकारी दिईसकेका छौ, हामीले पटक–पटक आग्रह गर्दा समेत उहाँहरुको ध्यान जान सकेको छैन, जसको कारण गाउँपालिका नै प्रभावित बनेको छ ।’

नियमित लामो समयसम्म विजुली नहुँदा बकैया तथा बागमती क्षेत्रका स्वास्थ्य सेवा, त्यहा रहेका दुग्ध उत्पादन सहकारी संस्थाका सेवाको साथै, बैंक तथा वित्तिय सस्था समेत निकै मारमा परेका छन् । पटक–पटक लाईन जाने आउने गर्दा कम्युटर, टिभि लगाएतको इलेट्रिक सामानहरुमा समेत समस्या देखिएको स्थानीयहरुको भनाई छ ।

हामीले यसबारे फुर्केचौरबाट बकैयाको हात्तिसुडेसम्मको फिडर हेर्ने नेपाल विद्युत प्राधिकरणका अर्जुन स्याङतानसँग कुरा गर्दा उनी भन्छन ‘ यो समस्या हाम्रो कारण हैन, हाम्रो क्षेत्रमा त्यस्तो कुनै समस्या नै छैन, लाईनको समस्या हाम्रो गाउँपालिका भन्दा बाहिर नै हो, मैले पनि भनेको छु, खै यस्तै भैरहेको छ ।’ आफुहरुले नियमित जाँच गरेको तर बकैया क्षेत्रमा समस्या नरहेको उनको भनाई छ । यसबारे हामीले हेटौँडा वितरण केन्द्रका उपप्रवन्धकलाई सम्पर्क गर्दा उनको फोन उठेन ।