हेटौंडा । मकवानपुर जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा बिमा गर्ने ३३ हजार ९ सय ६६ जना नयाँ सदस्य थपिएका छन् ।

नेपाल सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न बीमा ल्याएको बीमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ देखि कैलाली जिल्लाबाट सुरु गरेको थियो ।

आर्थिक अभाव भोगिरहेका नागरिकलाई पनि सजिलैसँग स्वास्थ्य उपचार सेवाको पहुँचमा ल्याउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। मकवानपुरमा भने वि.सं.२०७४ साल असार १५ गतेबाट सुरु भएको बीमा कार्यक्रमले सोहि वर्षको भदौको एक गतेबाट सेवा सुचारु गरेको थियो । सुरुवातको वर्षमै ५५ हजार ३१ सय ८१ जनाले बीमा गरेका थिए ।

हालसम्म ७५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु भइसकेको छ । बाँकी दुई जिल्लामा काठमाण्डौ र ललितपुर रहेका छन् ।

मकवानपुरमा हालसम्म १ लाख ३८ हजार ५ सय ५५ जनाले स्वास्थ्य बीमा गरेका छन् । जसमा ७१ हजार १ सय ८४ जना महिला रहेका छन् भने ६७ हजार ३ सय ६७ जना पुरुष रहेका छन् । स्वास्थ्य बीमा गर्नेमा ३२ हजार ५७ जनाले बीमा नवीकरण गरेका छन् भने बिमा गर्ने ३३ हजार ९ सय ६६ जना नयाँ सदस्य थपिएको स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरवहादुर खड्काले बताए ।
उनले भने, ‘ कोरोना महामारीको कठिन परिस्थतीमा समेत ८७ प्रतिशतले बीमा नवीकरण गरेका छन् । यो अघिल्लो बर्षमा भन्दा बढि रहेको छ ।’

बीमा गर्नेमा ३९ हजार २ सय ५० परिवारले पुर्ण शुल्कमा बीमा गरेका छन् । त्यस्तै ६ हजार १ सय ३२ जना जेष्ठ नागरिकले निशुल्क रुपमा स्वास्थ्य बीमाको सेवा उपयोग गरिरहेका छन् । त्यस्तै ८ सय ७२ पुर्ण अपाङ्ग रहेका परिवारले स्वास्थ्य बीमा सेवा निशुल्क लिइरहेका छन् । त्यस्तै एचआईभी भएका २ सय ३७ जनाका परिवारले समेत स्वास्थ्य बीमा निशुल्क गरिएको स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरवहादुर खड्काले बताए । त्यस्तै एमविआर टिभि भएको एक परिवारको समेत निशुल्क स्वास्थ्य बीमा गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविकाकाको परिवारलाई बीमा रकममा ५० प्रतिशत छुट दिई ६ सय २४ जनाको बीमा गरिएको समेत खड्काले बताए ।

स्वास्थ्य बीमा गर्नेमा मकवानपुरका स्थानिय तहहरुमा हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै संख्या रहेको छ भने वाग्मती गाउँपालिकाको संख्या सबैभन्दा कम रहेको छ । हेटौंडा उपमहानगरपालिकामा ८० हजार ८ सय ५१ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै थाहा नगरपालिकामा ७ हजार ४ सय ६७ जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै बकैया गाउँपालिकामा ७ हजार २ सय ८८ जनाले स्वास्थ्य बीमा गरेका छन् । वाग्मती गाउँपालिकामा १ हजार ४ सय ९२ जना,भीमफेदी गाउँपालिकामा मा ५ हजार ४ सय ५१,मनहरी गाउँपालिकामा १९ हजार ९ सय ५८,इन्द्रसरोवर गाउँपालिकामा २ हजार ७ सय ५६ कैलाश गाउँपालिकामा २ हजार १ जना, मकवानपुरगढी गाउँपालिकामा ८ हजार ४ जना र राक्सिराङ गाउँपालिकामा ३ हजार २ सय ९० जनाले स्वास्थ्य बीमा गरेका छन् ।

मकवानपुरमा बीमाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा सेवा लिन सकिन्छ भने आँखा सम्वन्धि सेवाका लागि हेटौंडा सामुदायिक आँखा अस्पतालमा सेवा लिन सकिन्छ । त्यस्तै रेफर गरि हेटौंडामा रहेको चुरेहिल अस्पतालमा समेत निशुल्क उपचार गराउन सकिने स्वास्थ्य बीमा बोर्ड मकवानपुरले जानकारी दिएको हो । त्यस्तै मकवानपुरको स्थानिय तहमा रहेका छतिवन प्राथमिक स्वास्थ्य केन्द्र,मनहरी प्राथमिक स्वास्थ्य केन्द,भमिफेदी प्राथमिक स्वास्थ्य केन्द,पालुङ्ग प्राथमिक स्वास्थ्य केन्दमा समेत बीमा बापतको स्वास्थ्य सेवा लिन सकिने स्वास्थ्य बीमा बोर्ड मकवानपुरले जानकारी दिएको हो । त्यस्तै अन्य जिल्लामा रहेका स्वास्थ्य बीमामा सुचिकृत रहेका अस्पतालमा समेत उपचार गराउन सकिन्छ ।

स्वास्थ्य बीमा गरेबाट ११ सय ३० औषधी निशुल्क पाइने स्वास्थ्य बीमा बोर्ड मकवानपुरले जानकारी दिएको हो ।

स्वस्थ्य बीमाबाट ओपीडी सेवादेखि लिएर ल्याव, फार्मेसी, आँखा र चस्मासम्मको सुविधा पाइने छ । व्यक्तिले पाउनु पर्ने स्वास्थ्यका सबै आधारभूत सेवा सुविधाहरु स्वास्थ्य बीमाबाट प्राप्त गर्न सकिने स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरवहादुर खड्काले बताए ।

‘त्यसैगरी, वार्षीक ३५ सय रुपैयाँ तिरेर एउटा परिवारले एक लाखसम्मको कुनै पनि प्रकारको सेवा सुविधा पाउने छन्। कुनै परिवारमा ५ जना भन्दा धेरै सदस्य छन् भने त्यस्तो अवस्थामा प्रतिसदस्यले वार्षिक सात सय रुपैयाँ थप गर्नु पर्ने हुन्छ। जसले गर्दा उनीहरुले थप २० हजार रुपैयाँ बराबरको सेवा सुविधा पाउने छन्। यदि १० जनाको परिवार छ भने उनीहरुले दुई लाखसम्मको सेवा सुविधा पाउने छन्।,’ उनले भने

जेष्ठ नागरिक छन् भने प्रतिजेष्ठ नागरिकले १ लाखको उपचार सेवा पाउँछन्, त्यसका लागि कुनै योगदान गर्न पर्दैन। यदि कुनै परिवार अति गरिबको सूचीमा छ भने उसले पनि योगदान गर्न पर्दैन। उसको तर्फबाट गर्ने योगदान नेपाल सरकार आफैंले गर्ने जेष्ठ नागरिक छन् भने प्रतिजेष्ठ नागरिकले १ लाखको उपचार सेवा पाउँछन्, त्यसका लागि कुनै योगदान गर्न पर्दैन।

यदि कुनै परिवार अति गरिबको सूचीमा छ भने उसले पनि योगदान गर्न पर्दैन। उसको तर्फबाट गर्ने योगदान नेपाल सरकार आफैंले गर्ने खड्काले बताए ।


अनिश चौलागाई
[email protected]