हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् ।

सरकारले नयाँ शैक्षिक सत्र २०७८ असारबाट शुरु गर्ने भनेको थियो । पशुपतिनाथ माविमा २०७७ को वार्षिक परीक्षामा ५४४ विद्यार्थीले परीक्षा दिएका थिए । २०७८ असार महिनाभरि विद्यार्थी भर्ना गरी पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको विद्यालयले सोचेअनुरुप हुन नसकेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए ।

एक महिनाको अवधिमा ५० विद्यार्थी मात्र सम्पर्कमा आएकाले आफूहरु चिन्तित भएर भर्ना अभियान लिएर गाउँमा गएको उनको भनाइ छ । ‘अतिविपन्न र लोपोन्मुख जातिका बालबालिकालाई अध्ययन गराउने भएका कारण पनि घरदैलो अभियान चलाएका हौं,’ उनले भने । खेतीपाती गर्ने मौसम भएकाले विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई भेट्न खेतबारीमै पुग्ने गरेको उनले बताए ।

कोरोना महामारीमा विद्यालय नपुगेसम्म अध्ययन(अध्यापन सम्भव छैन भन्ने परिभाषा अहिले फेरिएको प्रधानाध्यापक आचार्यले बताए । भर्चुअल माध्यमबाट पनि विद्यार्थीको औपचारिक अध्ययन सम्भव भएको उल्लेख गर्दै उनले अधिकांश अभिभावकसँग स्मार्ट फोन भए पनि इन्टरनेटको अभावमा अध्ययन गराउन केही असहज हुनसक्ने बताए । यद्यपि केही उपाय लगाएर अध्ययन–अध्यापन गराउन समयमा नै भर्ना गराउन आफूहरु लागिपरेको उनको भनाइ छ ।

घरमा खाने गाँस कटाएर पनि अभिभावकले स्मार्टफोन किन्नु परेकोमा आफूलाई दुःख लागेको भन्दै उनले विद्यार्थी सम्पर्कमा आएर पाठ्यपुस्तक लिएमा मात्र उनीहरुलाई वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलापमा जोड्न सकिने बताए । घरदैलो अभियानमा संकलन गरिएको तथ्यांक अनुसार एक प्रतिशत विद्यार्थीको घरमा मात्र इन्टरनेट जोडिएको पाइएको आचार्यले जानकारी दिए । भर्चुअल माध्यम सम्भव नभएको अवस्थामा अन्य विकल्प खोजी गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

असार महिनाभर विद्यार्थी भर्ना अभियान चलाए पनि विद्यार्थी भर्ना हुन नआएपछि शिक्षकले घरदैलो अभियान शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बताए । ‘हाम्रो विद्यालयमा चेपाङ, वनकरियालगायत विपन्न समुदायका बालबालिका पढ्ने विद्यालय भएका कारण पनि हामी आफैं उनीहरुलाई विद्यालय ल्याउने कार्यमा सजग छौं ।’

नेपाल टेलिकमले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप ९सीयूजी० प्रविधि अपनाएर विद्यार्थीलाई नियमित सम्पर्क गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ । परम्परागत कृषि पेशामा मात्र निर्भर रहेका मनहरी–४ मसिनेका अभिभावकले बालबालिकाको अध्ययनका लागि इन्टरनेट, कम्प्युटर तथा मोबाइल उपलब्ध गराउन सक्ने सम्भावना नदेखिएको अध्यक्ष गौतमले बताए । सीमान्तकृत तथा लोपोन्मुख वनकरिया समुदायका १५ बालबालिका यो विद्यालयमा पढिरहेका छन् । २२ घर वनकरिया परिवारमा एक सय जना सदस्य रहेका छन् । इन्टरनेटको सुविधा यो समुदायमा पुग्न सकेको छैन ।

अभिभावकका मोबाइल डाटाबाट बालबालिकाले कहिलेकाहीं इन्टरनेट भने चलाउने गरेको सन्तोषी वनकरियाले बताइन् । उनका अनुसार अभिभावक खेत र मजदुरीमा जानुपर्ने कारण पनि बालबालिकालाई भर्चुअल कक्षामा बसाउन गाह्रो भइरहेको छ । विद्यालयले भर्ना र अध्यापन गराउन घरमा आएर आग्रह गरे पनि प्रविधिले साथ नदिएको उनको भनाइ छ ।

आफूले १२ कक्षा पास गरिसकेकाले आफ्नो समाजका बालबालिकालाई पढ्न प्रेरित गरिरहेकी सन्तोषीले हालसम्म १५-२० जना वनकरियाले फेसबुक नै चलाउन थालिसकेको भए पनि सबै बालबालिकालाई भने नेटबाट पढाउन समस्या रहेको बताइन् । भर्चुअल कक्षामा पढाइकै लागि डाटाबाट महंगो पर्ने भएकाले पनि सम्भव नभएको उनको भनाइ छ ।

कक्षा ९ मा अध्ययनरत अनिल वनकरियाले आफूहरु गोठालो गएर समय व्यतित गरिरहेको बताए । मोबाइल डाटा चलाउने भए पनि पढ्न नै पुग्ने गरी मोबाइलमा पैसा हाल्न पनि समस्या नै हुने उनले बताए । अभिभावक बुद्धिमान राईले आफ्ना बच्चा पढाउन मोबाइल डाटाबाट नसक्ने र इन्टरनेटको पहुँच नभएकाले पनि विद्यालयले भनेको जसरी बच्चा पढाउन नसकिने जानकारी विद्यालयलाई गराएको र विद्यालयले पनि अन्य उपाय अवलम्बन गर्ने आश्वासन दिएको बताए ।

एक दशकअघिसम्म वनकरिया बस्तीबाट विद्यालय जाने दुई जना मात्र थिए । अरू बालबालिका जंगलमा कन्दमूल खोज्ने, खोलामा दिनभर माछा मार्ने र गोठाला जाने गर्थे । अहिले भने बस्तीमा परिवर्तन देखिएको छ । वनकरिया समुदाय मात्र होइन दनुवार, चेपाङ, तामाङ, दलित समुदायका बालबालिका पनि पशुपतिनाथ माविमा अध्ययन गरिरहेका छन् । ती समुदायमा इन्टरनेटको पहुँच छैन । अनलाइन कक्षा चलाउन सम्भव नभएपछि विद्यालयले अर्को विकल्प खोजी गरिरहेको बताइएको छ ।

पशुपतिनाथ माविको जस्तै अवस्था मकवानपुरका ग्रामीण क्षेत्रका विद्यालयले भोग्दै आएका छन् । भौतिक उपस्थिति, पुस्तक र कापी–कलमबिना पनि विद्यालयबाट औपचारिक अध्ययन गर्न सकिने, वेबसाइटमा पाठ्यसामग्री खोजेर पढ्न सकिने र शिक्षक शिक्षिकाले जुम र गुगल मिटमा पढाउने र इमेल, मेसेन्जर, वाट्सप, भाइबर जस्ता माध्यमबाटै गृहकार्य दिन थालेका छन् । पछिल्लो एक वर्षको अवधिमा वागमती प्रदेशका प्रायः शिक्षकलाई लामो छोटो अवधिको प्रविधिमैत्री तालिम प्रदान गरिएको वागमती प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले २० प्रतिशतभन्दा कम शिक्षक मात्रै प्रविधिको प्रयोग गरी पढाउन सक्षम भएको बताए । उनका अनुसार ग्रामीण भेगका कतिपय शिक्षक नै इन्टरनेटको पहुँचमा रहेका छैनन् । सबै शिक्षक प्रविधि चलाउन नजान्ने भएका कारण पनि समस्या भएको उनको भनाइ छ ।