हेटौँडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था सुरु गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमबिच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सेवा शुभारम्भ गर्ने भएका छन् ।

बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र सवारीसाधनको कर तथा जरिवाना भोलिदेखि अनलाइनबाटै तिर्न सकिने भएको हो ।

यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस)को विकास गरेको छ ।
सेवाग्राहीले नागरिक एपबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको करबारे जानकारी लिन र कर तिर्न सक्नेछन् ।

जसका लागि एपको सवारी कर अप्सनमा जानुपर्ने हुन्छ । एपबाट पहिलो चरणमा बागमती प्रदेशका सवारीसाधनको कर तिर्न सकिनेछ ।