काठमाडौं। पार्टीको क्रियाशील सदस्यताको विषयमा भएको विवादपछि काँग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश सिंहले बुधबार पदबाट राजीनामा दिएका छन्। उनले राजीनामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफूले राजीनामा बुझाएको सिंहले डिसी नेपाललाई जानकारी दिए। उनले भने, ‘मैले राजीनामा दिने कुरा यसअघि नै जानकारी गराइसकेको थिएँ। आज वीपी स्मृति दिवसको अवसर पारेर बुझाएको हुँ।’

सिंहले राजीनामा बुझाउन खोज्दा देउवाले शुरुमा लिन मानेका थिएनन्। सिंहले भने, ‘शुरुमा लिन मान्नु भएन, मैले निर्णय गरिसकेको छु। भनेर कर गरेपछि राजीनामा पत्र बुझ्नु भयो।’ राजीनामा बुझेपछि देउवाले क्रियाशील सदस्यताको विषय दुई तीन दिनमै टुंग्याउने बचन भनेका दिएको सिंहले बताए।

सर्लाहीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले सर्लाहीमा इमान्दार नेता कार्यकर्तालाई क्रियाशील सदस्यता नदिएर जाली, फटाहा र ठेकेदारलाई दिइएको बताए। उनले भने, ‘पार्टीमा काम गरेकालाई नदिएर ठेकादार, फटाहालाई सदस्यता दिइएको छ। समायोजनका नाममा क्रियाशील सदस्यता एकलौटी वितरण भएको छ। पार्टी त ठेकादारको कब्जामा गयो नि। अनि मैले राजीनामा दिएको हुँ।’

सर्लाहीमा तत्कालिन तमलोपाबाट जंगीलाल यादव काँग्रेस प्रवेश गरेका छन्। उनलाई सिधै क्रियाशील सदस्यता सामूहिक रुपमा दिइएको छ। यस्तै माओवादीबाट काँग्रेस प्रवेश गरेका शम्भुलाल श्रेष्ठलाई पनि सामूहकि रुपमा क्रियाशील सदस्यता दिइएको छ।

नेता सिंहले समायोजनका नाममा पार्टी कब्जा गर्न खोजेपछि आफूले राजीनामा दिएको बताएका छन्। उनले राजीनामा बुझाउनु अघि सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वोय शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता मिनेन्द्र रिजाललाई जानकारी दिएको बताए।