हेटौंडा । कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङले बहुमत कार्यपालीकाको सहमतीविना बजेट कार्यन्वयन हुन नसक्ने दाबी गरेकी छिन् । कैलाश गाउँपालिकाको बजेट विवादको विषयमा खबरब्रेकसँग कुरा गर्दै उपाध्यक्ष थिङले उपाध्यक्ष, आठ जना वडा अध्यक्ष तथा बहुमत कार्यपालीका सदस्यको सहमति विना बजेट कार्यन्वयन हुननसक्ने दाबी गरेकी हुन् ।

गत असारमा भएको नीति तथा कार्यक्रममा बजेट ब्रेक नभएको भन्दै उनले अध्यक्ष टंक मोक्तानले एकलौटी बजेट ब्रेक गरि असार १५ मा भएको नीति तथा कार्यक्रमलाई नै बजेट पासको माध्यम बनाउनु गम्भिर अपराध भएको भन्दै उनले यस्ता क्रियाकलापले सिंगो गाउँपालिकाको विकास प्रभावित हुने बताईन् ।

उनले भनिन् ‘अध्यक्ष ज्यूले त्यो दिन नीति तथा कार्यक्रम मात्र भनेर हामीलाई बोलाउनु भयो, नीति तथा कार्यक्रम पास गरेपछि सबै वडा अध्यक्ष मिलेर बजेट निर्माण गर्ने र २७ असारमा पास गर्ने अजेण्डा थियो, तर उहाँले जालझेल गरेर सोहि दिन हाम्रो उपस्थितीको सहि गराएर बजेटनै पास गरेको निर्णय पछि थप्नु भएछ, त्यो गम्भिर अपराध हो ।’

गाउँपालिकाको सम्वन्धित ८ जना वडा अध्यक्षलाई समेत जानकारी नदिई उक्त वडामा बजेट विनियोजन हुनु गम्भिर भूल भन्दै उनले अध्यक्षलाई उक्त निर्णय तत्काल सच्याउँदै सबै वडा अध्यक्षको सहमतिमा बजेट निर्माण गरि कार्यन्वयनको चरणमा जानको लागि अनुरोध समेत गरेकी छिन् ।

कैलाशको १० जना मध्य २ जना माओवादी केन्द्रको वडा अध्यक्षहरुको सहभागितामा मात्र हेटौंडाको होटलमा बसेर बजेट बनाउनु र सोहि बजेटलाई जालझेल गरेर लागु गर्न खोज्नु राजनीतिक संस्कार नभएको भन्दै उनले अध्यक्ष मोक्तानलाई आफ्नो कमजोरी सच्याएर अघि बढन् सूझाव समेत दिएकी छिन् ।