हेटौंडा । जापान पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक खाता खोली आफूलाई जापानको इमिग्रेसनमको आधिकारीका रुपमा चिनाइ विभिन्न व्यक्तिहरुसँग रकम उठाएर ठगी गर्ने कार्यमा संलग्न तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नंबर १२ पदमपोखरी घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, ईलाम सुर्योदय नगरपालिका वडा नंबर ४ श्रीअन्तु घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नंबर ९ राम्चे घर भई हाल काठमाडौं कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नंबर ७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।

फेसबुकमार्फत पीडितलाई सम्पर्क गरेर उनीहरुले वर्किङ भिसाको प्रक्रियाका लागि रकम पठाउनुपर्छ भन्दै विभिन्न बैंकको खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको खुल्न आएको प्रहरीले जनाएको छ । तर रकम पाएपछि सम्पर्कबिहीन भएपछि पीडितहरु महाशाखामा उजुरी बोकेर पुगेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।