हेटौँडा । नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा नेकपा माओवादी केन्द्रका पुर्व लडाकु सहितका १ सय ८५ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

आज हेटौँडा उपमहानगरपालिका वडा नंबर १७ मा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु गोपाल प्रजा, अस्मिता प्रजा सहित १ सय ३ तथा नेकपा माओवादीका पुर्व लडाकु भीम डिमडुम, भोजराज जिम्मा लगाएतका ८२ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा बकैया वडा नंबर ६ का कुलबहादुर थिङ, सोमबहादुर थोकर मञ्जित विक सहित ४७ जना, हेटौँडा १७ बुंगेखोलाका ६० जना,हेटौँडा १६ र १७ मा पर्ने साजबोटेका ५६ जना, हेटौँडा १८ का २२ जना रहेका छन् ।

कार्यक्रममा नव प्रवेशीलाई नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद् एवम् अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल सहित एमाले नेताहरु कमल विष्ट, हेटौँडा १७ का वडा अध्यक्ष भैरब राई लगाएतले स्वागत गरे ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले एमालेको सरकारले विकासको मुहान फुटाएको बताए । आफु वडा अध्यक्ष भएपछि यो क्षेत्रको विकास भएको भन्दै उनले एमालेले काम गरेकै कारण विश्वास बढेको बताए । कार्यक्रममा बोल्दै एमाले मकवानपुरका सचिवालय सदस्य कमल विष्टले आफु हटिया गाविसको अध्यक्ष हुँदा यहासम्म विकासको काम सुरु गरेको, त्यसपछिका वर्षहरुमा मुलुकमा हिंसा सुरु भएको र पछिल्लो समयमा केपी ओली नेतृत्वको सरकारले यहाका जनताको दुख बुझेर विकासको कामलाई अघि बढाएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका अर्थ समिति सभापति दाहालले केपी ओली नेतृत्वको सरकारलाई ढालेर पुँजीबादीहरुले बिकास हुनबाट जनतालाई बञ्चित गराउन खोजेको बताए । एमाले सरकारले यहाँका भूमिहिन जनतालाई लालपुर्जा दिनलाग्दा कांग्रेस सरकारले आयोग खारेज गरेर गरिबको अधिकार खोसेको उनको भनाई रहेको थियो ।