पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले विश्वासको मत पाएको छ ।

शुक्रबार प्रदेश सभामा पोखरेल नेतृत्वको सरकारले विश्वासको मत पाएको हो । पोखरेल सरकारको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो ।

हाल कायम रहेको ५९ सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतको लागि ३० मतको आवश्यक रहेको छ । आजको मत बिभाजनमा ५८ सांसद उपस्थित रहेका थिए ।  ६० सदस्यीय प्रदेश सभाका जनमोर्चा सांसद कृष्ण थापाको पद खारेज भएको छ भने सभामुख मत बिभाजन प्रक्रियामा सहभागी भएनन् ।

गत शनिबार संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्था रहेको थियो ।

पोखरेलले नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङेको समर्थनमा सरकार बनाएका हुन् ।

सरकारले ल्याएको बजेट र मन्त्रीहरुको मन्त्रालय बिभाजनमा अन्योलता बढेपछि छिटै विश्वासको मत लिएको हो । विश्वासको मत लिनु अघि नै सरकारले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने मंगलबार बजेट समेत संसदमा पेस गरेको छ । अब विश्वासको मत लिएपछि बजेटमाथिको छलफल प्रारम्भ हुने बताईएको छ ।