हेटौँडा । वर्षातको समय सुरु भएसँगै मकवानपुरमा पनि बाढी पहिरोको जोखिम बढने गरेको छ । मकवानपुर जिल्ला बाढि पहिरोको उच्च जोखिमको क्षेत्रको रुपमा रहँदै आएको छ । वाढी पहिरोको कारण यहाँ वर्षेनि जनधनको क्षति हुने गरेको कारण पनि मकवानपुर उच्च जोखिमको जिल्लाको रुपमा चित्रित हुँदै आएको हो ।
यि हुन मकवानपुरको जोखिम क्षेत्र
मकवानपुर जिल्लाको १० वटै स्थानीय तह बाढिपहिरोको जोखिम क्षेत्रको रुपमा रहेको छ । हेटौँडा उपमहानगरपालिका सहित मनहरी गाउँपालिका, बागमती गाउँपालिका बाढिको उच्च जोखिमयुक्त क्षेत्र हुन भने बकैया, थाहा नगरपालिका, भीमफेदी, इन्द्रसरोबर, मकवानपुरगढी, राक्सिराङ तथा कैलाश गाउँपालिका भने बाढी र पहिरो दुबैको जोखिम क्षेत्रको रुपमा रहेको छ ।

मकवानपुरको पूवि क्षेत्रमा पर्ने बागमती गाउँपालिकाको बागमती नदि सहित चौरा खोला र दर्जन बढि चुरेबाट झर्ने खहरे खोलाको कारण उक्त गाउँपालिकामा बर्षेनि सयौ हेक्टर जमिन कटान हुनुको साथै मानबीय क्षति समेत हुने गरेको छ । यता बकैयाको सिमात, बकैया खोला सहितका दर्जनौ साना खोलाहरु र चुरेबाट बग्ने सयौँ साना, मझौला खहरेले यहाँपनि सयौँ हेक्टर खेतीयोग्य जमिन नष्ट गर्नुको साथै मानिहरुको घरबार समेत नष्ट गर्ने गरेको पाईएको छ । बकैयाको महाभारत क्षेत्र तथा चुरेको फेदीमा पहिरोको समेत समस्या छ । यहाँ पहिरोको कारण वर्षेनि दर्जनौ परिवार विस्तापित हुने गरेको छ ।
हेटौँडा उपमहानगरपालिकामा रापती, कर्रा खोलाले वर्षैनि डुवान तथा कटान गर्ने गरेको छ भने हर्नामाडी हटिया क्षेत्रमा चुरे क्षेत्रबाट बहने खहरेखोला पनि वर्षातमा समस्याको रुपमा रहेको छ ।

पश्चिम मकवानपुरको मनहरी, राक्सिराङ तथा कैलाश गाउँपालिकामा रहेका मनहरी खोला, लोथर खोला तथा रापती खोलाले यहाँ वर्षेनि ठुलो मात्रामा जमिन कटान गर्नुको साथै बस्तिमा खोला पस्ने समस्या पनि रहेको छ । यि बाहेक पाहाडी क्षेत्रमा पहिरोको समेत समस्या रहेको छ । यता मकवानपुरगढी, भीमफेदी, थाहा नगरपालिका क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ । थाहा नगरमा भने बाढी तथा पहिरोको समस्या निकै रहेको छ । मकवानपुर गढी गाउँपालिकाको आमभञ्याङ, सुकौरा, बुढीचौर क्षेत्रमा बाढी तथा पहिरोको उच्च जोखिम रहँदै आएको छ भने खानीको अब्यवस्थित उत्खनन्को कारण यि क्षेत्रमा पहिरोको पनि उच्च जोखिम रहेको छ ।

प्रमुख जिल्ला अधिकारी भन्छन : हामीले विपत ब्यवस्थापन पूर्व तयारी गरेका छौ
जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जिल्लाको विभिन्न स्थानीय तह बाढी र पहिरोको जोखिम रहेको बताए । खबरब्रेक संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले विपद् व्यवस्थापनको लागि जिल्लाका १० वटै स्थानीय तहलाई प्राकृतिक विपद् व्यवस्थापनको तयारी अवस्थामा रहन आग्रह गरिसकेको बताए । उनले भनेः देशभर वर्षा भईरहेको छ,कतिपय जिल्लामा बाढी र पहिरोले जनधनको क्षती पुर्याएको खबरहरु आइरहेको छ । मकवानपुरमा भने बाढी पहिरोले हालसम्म कुनैपनि जनधनको क्षती भएको छैन ।

हामीले जिल्लाका सबै स्थानीय तहलाई विपद् व्यवस्थापनको तयारीमा रहन आग्रह गरिसकेका छौ । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार मकवानपुरको राक्सिराङ,कैलाश,मकवानपुरगढी,बकैया,इन्द्रसरोबर तथा भीमफेदी गाउँपालिकाको क्षेत्रमा पहिरोको जोखिम रहेको छ भने हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,बागमती र मनहरी गाउँपालिका बाढीको जोखिममा रहेको छ । उनले जिल्ला अधिकाशं स्थानीय तह बाढी र पहिरो दुबैको जोखिममा रहेको बताए । केहि दिन अघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको र आवश्यक योजना बनाएर प्राकृतिक विपद्ु व्यवस्थापनको लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।