File photo

कोभिड–१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रमक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ ।

नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना (२०७६ माघ १० देखि) चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ । २०७७ चैत २५ लाई पहिलो लहरको अन्तिम दिन र त्यसपछिलाई दोस्रो लहर मानेर हेर्दा कोभिडबाट संक्रमित र मृत्युको यो भयावह तस्बीर देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चैत २५ सम्म कोभिडको पहिलो लहरबाट मुलुकभरि २ लाख ७८ हजार ४ सय ७० जना संक्रमित थिए । त्यसपछिका दुई महिनामा संक्रमित हुनेको संख्या बढेर ५ लाख ९१ हजार ४ सय ९४ पुगेको छ । गत चैत २५ देखि जेठ २५ सम्मको दुई महिनामा ३ लाख १३ हजार २४ जना नयाँ संक्रमित थपिएका छन् । पहिलोको तुलनामा यो १ सय १२ प्रतिशतले बढी हो ।

त्यस्तै, कोभिडबाट संक्रमितमध्ये दोस्रो लहरमा मुत्यु हुनेको संख्या झनै धेरै छ । मन्त्रालयको तथ्यांकअनुसार कोभिडको पहिलो लहर (गत चैत २५ सम्म) मा ३ हजार ३८ जनाको ज्यान गएको थियो । तर दोस्रो लहरका दुई महिनामा गत चैत २५ यता यो संख्या बढेर ७ हजार ९ सय ९० पुगेको छ । दुई महिनामा ४ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । यो संख्या पहिलो लहरको तुलनामा १ सय ६३ प्रतिशतले बढी हो ।

कोभिडको दोस्रो लहरको तुलनामा पहिलो लहर मृत्युदरका हिसाबले कमजोर देखिएको छ । गत चैत २५ सम्म कुल संक्रमितमध्ये मृत्यु हुने दर १.०९ प्रतिशत थियो । तर दोस्रो लहरको दुई महिनामा मृत्युदर १.५८ प्रतिशत पुगेको छ । नेपालमा एकैदिन यही जेठ ५ मा २ सय ४६ जनाको मृत्यु भएको थियो । अहिलेसम्म एकैदिन मृत्यु हुने संख्या यो नै धेरै हो ।

सरकारले नेपालमा कोभिडका कारण हुने कुल मृत्युदर १.६ प्रतिशत रहेको बताएको छ । दोस्रो लहरले सबैभन्दा बढी प्रभावित मानिएको छिमेकी भारतमा यो दर १.२२ प्रतिशत छ ।

नेपालमा २०७६ माघ १० मा पहिलोपटक कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । अहिले मुलुकभर ८० हजार ३ सय ३६ संक्रिय संक्रमित छन् ।

पछिल्ला केही दिन कोभिडको संक्रमण केही मत्थर भए पनि संक्रमणदर अझै २५ देखि ३० प्रतिशत हाराहारीमा छ । यो दरले मुलुकमा महामारीको फैलावट अझै पनि उच्च रहेको देखाउँछ । पछिल्ला दिनहरूमा सहरीभन्दा ग्रामीण क्षेत्रमा संक्रमण अत्यधिक फैलिएको छ । कर्णाली प्रदेशमा गत २४ घण्टामा ३ सय ५३ जनाको भाइरस परीक्षण भएकोमा १ सय ५७ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा संक्रमण दर (टेस्ट पोजिटिभिटी) ४४ दशमलब ५ प्रतिशत पुगेको छ ।

यसैगरी, सुदूरपश्चिममा कुल ६ सय १० जनामा परीक्षण भएकोमा २ सय २९ अर्थात् ३७ दशमलब ५ प्रतिशतमा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा पनि संक्रमण दर २९.६ प्रतिशत छ । दोस्रो लहरमा ग्रामीण बस्तीहरूमा पनि कोभिड संक्रमित बढेका छन् । तर त्यहाँ परीक्षणको सुविधा छैन । पहिलो लहर सहरी क्षेत्रम बढी फैलिएको थियो ।

कोभिडको दोस्रो लहर सुरु भएपछि सरकारले २०७८ वैशाख १६ देखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्ला र सहरमा निषेधाज्ञा जारी गरेको छ । अहिले ७४ जिल्लामा निषेधाज्ञा जारी छ । पाँच सातासम्म निषेधाज्ञा लगाउँदा पनि संक्रमण दर ३० प्रतिशत हाराहारीमा रहनुले महामारी नियन्त्रणका लागि अझै धेरै समय लाग्ने देखिएको छ ।

महामारीको दोस्रो लहर मृत्यु र संक्रमणदरका हिसाबले बढी घातक भएको परिप्रेक्ष्यमा नियन्त्रणका लागि अझै सशक्त हिसाबले काम गर्नुपर्ने हुन्छ । महामारी नियन्त्रण गर्न भाइरस परीक्षण, संक्रमितको सम्पर्कमा आएकाको पहिचान तथा आइसोलेसन प्रभावकारी बनाउनुपर्छ । सरकारले बारम्बार भाइरस परीक्षण दायरा बढाउने भने पनि त्यो दैनिक २०/२२ हजारको हाराहारीमै छ । ग्रामीण क्षेत्रमा पिसिआर परीक्षणको नतिजा थाहा पाउन चार÷पाँच दिन लाग्ने देखिएकोछ । यसले पनि संक्रमण बिस्तारमा बल मिलेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । एन्टिजेन र पिसिआर विधिमार्फत १६ हजार ६ सय १५ जनाको भाइरस परीक्षण भएको थियो । दुवै विधिमार्फत परीक्षण गरिएकामध्ये २६.१४ प्रतिशतमा संक्रमण देखिएको छ । पिसिआर परीक्षणको मात्र हिसाब गर्दा संक्रमण दर २८.६ छ ।

पछिल्लो २४ घण्टाको तथ्यांकसँगै नेपालमा कोरोना भाइरका कारण संक्रमित हुनेको संख्या ६ लाख १५ हजार २ सय ५२ पुगेको छ । जसमध्ये ५ लाख १० हजार २ सय ९८ जना निको भएका छन् । बुधबारसम्म नेपालमा भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म २१ लाख ६९ हजारले खोपको पहिलो डोज लगाएका छन् । खोपको दुवै डोज लगाउनेको संख्या ६ लाख ९१ हजार पुगेको छ ।

आजको नागरिक दैनिकमा खबर छ ।