एजेन्सी । युरोकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनले लिथुआनियामाथि ४–० को सहज जित हात पारेको छ । १० युवा खेलाडीलाई डेब्यु दिएको खेलमा स्पेनले लिथुआनियालाई सहजै पराजित गरेको हो ।

टोलीका कप्तान सर्जियो बुस्क्वेट्सलाई कोरोना पुष्टि भएपछि युइएफए र फिफाको प्रोटोकललाई ध्यानमा राख्दै स्पेनले लिथुआनियाविरुद्ध युवा खेलाडीलाई मौका दिएको थियो । खेल नै स्थगित हुने अवस्थामा रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले यु–२१ को टोलीलाई अवसर दिएको थियो । तर त्यही युवा टोलीले नै लिथुआनियालाई सहजै पराजित गरेको छ ।

स्पेनको जितमा ह्युगो गुलामोन, ब्राहिम डियाज, नुहआन मिरान्डा र जाभी पुआदोले गोल गरे । पहिलो हाफमा ह्युगो गुलामोन र ब्राहिम डियाजको गोलबाट २–० को अग्रता लिएको स्पेनले दोस्रो हाफमा जुआनन मिरान्डा र जाभी पुआदोको गोलबाट ४–० को जित निकाल्यो ।

खेलको तेस्रो मिनेटमा ह्युगो गुइलामोनको गोलबाट स्पेनले अग्रता लिएको थियो । २४औं मिनेटमा ब्रामिह डियाजले गोल गर्दै स्पेनको अग्रता दोब्बर पारे । ५३औं मिनेटमा जुआन मिरान्डाले तथा ७२औं मिनेटमा जाभीले गोल गर्दै स्पेनेको जित पक्का गरेका थिए ।

युरोकपको टोलीमा युवा खेलाडीकै बाहुल्यता रहेको स्पेनले लिथुआनियाविरुद्ध १० खेलाडी डेब्यु दिँदा ब्रायन गिलमात्र यसअघि खेलिसकेका खेलाडी थिए । यो स्पेनिस फुटबलको इतिहासमै सबैभन्दा कम औषत उमेरको टोली बन्यो । लिथुआनियाविरुद्ध सुरुआती ११ मा परेका खेलाडीको औषत उमेर २२ वर्ष १ सय २ दिन थियो । युरोकपको समूह ‘ई’ मा रहेको स्पेनले स्वीडेन, पोल्याण्ड र स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ ।