बिशु सुनार (श्रमन) । बाल बिवाह नेपाली समाजको सन्दर्भमा पनि लिच्छवि कालमा बाल विवाह गरेको प्रसंग भेटिँदैन । यद्यपि मध्यकालमा राजा तथा उच्च घरानियाहरूले बाल विवाह गरेको प्रसंग प्रशस्त पाइन्छ । भारतमा मुसलमानले साम्राज्य विस्तार गर्ने क्रममा हिन्दुहरू त्रसित भएका थिए । यसले गर्दा आफ्ना छोरी चेलीहरूलाई मासिक धर्म नहुँदै विवाह गरिदिन थाले । यो प्रचलनले खास साम्राज्य तथा काठमाडौंं उपत्यकामा समेत ठूलो प्रभाव पारेको थियो । साथै हिन्दु समाजमा पुत्रको चाहनाले पनि बाल विवाह गर्ने प्रचलन बसिसकेको थियो । भने खास राज्यको मध्यम वर्र्गीय परिवारमा विवाहको लागि नाबालक उमेरदेखि नै बालिकाहरूको अभिभावकसँग खरिद बिक्री हुने गर्दथ्यो । काठमाडौंं उपत्यकाका मल्ल राजाहरूको पनि धर्मको आडमा बाल विवाह हुने गर्दथ्यो ।

नेपाली समाजमा बाल विवाह गर्ने प्रथा खास आर्यमा मात्र सीमित छैन । यो प्रथाले हिमाल पहाड तराई र सुदूरपश्चिमका दलित समुदायलाई गहिरो प्रभाव पारेको छ । विशेषतः तराईका मैथिली ब्राह्मण र दलित समुदायमा बाल विवाह गर्ने प्रथा अझै पनि दह्रो छ । हाम्रो समाजमा विशेष गरी शुद्र जातमा वालविवाहको अहिले सम्म पनि अन्त्य हुन सकेको छैन । बालविवाह गर्नु गराउनु बाल अधिकार, महिला अधिकार, मानव अधिकार र कानूनी शासनको समेत प्रतिकूल हो । बालविवाह बाट बालबालिका पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वन्चित भईरहेका छन् ।

शारीरिक र मानसिक रूपमा परिवर्तन हुने उमेरमा बालबालिकाहरू वैवाहिक बन्धनमा बांँधिन पुग्छन् । यसको असर किशोरीहरूमा प्रत्यक्ष रूपमा देखिएको छ । सानो उमेरमा विवाह गर्नाले यौन दुव्र्यहार, अशिक्षा, हिंसा, कमजोर स्वास्थ्य, प्रजनन स्वास्थ्यमा पर्नसक्ने गम्भीर खतरा, बाल अधिकार हनन्, सामाजिक तथा आर्र्थिक रुपमा कमजोरी आदि समस्या देखा पर्दछन् । अन्धविश्वास र कुरीतिले गर्दा ४० प्रतिशत विवाहित किशोरीहरूले विद्यालयको शिक्षा पूरा गर्दैन् बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि वालविवाह जस्ता गैरकानूनी कार्यले प्रश्रय पाइरहेको देखिन्छ ।

सृष्टि संचालनका लागि विवाह अपरिहार्यता हो । विवाह केटाकेटी वीचको बैधानिक सम्झौता हो । तर त्यो भन्दै गर्दा बाल बिवाह गर्नु भनेको मुर्खता र कानुनि अपराध पनि हो । विवाहले केटा केटी वीचको सम्वन्धका साथसाथै गाउ, समाज, भाषा, क्षेत्र, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्वन्धलाई समेत जोडेको हुन्छ । बैबाहिक जीवन सुखद रहेमा घरपरिवार देखि सुभचिन्तक सवै खुशी र सुखी हुन्छन् तर कसैको सम्वन्ध कुनै कारणले असफल भएमा घरपरिवार, आफन्त देखि समाजमा समेत यसको प्रतिकूल असर पर्दछ । बैबाहिक जीवन असफल भएका कारण हत्या, आत्महत्या, यातना जस्ता क्रुर र अमानवीय घटनाहरु पनि घट्ने गरेको पाईन्छ ।

सानो उमेरका बालिकाहरु स्वास्थ्य र मानसिक रुपमा समेत गर्भवती बन्न सक्ने अवस्थाका हुँदैनन । सानै उमेरमा बालिका गर्भवती भएका खण्डमा आफू स्वस्थ्य रहन र बच्चा समेत स्वस्थ रुपमा जन्माउन नसक्ने भई गर्भवती आमा तथा बच्चाको समेत अकालमा नै मृत्यू हुन सक्छ । परम्परा, धर्म, संस्कृति आदिका नाउँमा सानै उमेरमा विवाह गर्दा गराउदा आफ्नै बालिकाको अकालमा नै मृत्यू हुन सक्ने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट नै वन्चित हुनु पर्ने यथार्थतालाई हाम्रो समाजले नजरअन्दाज गर्ने गरेको छ । बालविवाहकै कारण घरेलु हिंसा बढी हुने गरेको र हिंसा सहन नसकी महिलाले आत्महत्या समेत गर्ने गरेको देखिन्छ । हाल भने कोभिड–१९ बढे संगै बाल बिवह घट्ने क्रम जारी छ ।

किन हुन्छ बाल विवाह ?
१. अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा गर्ने गरेको पाइन्छ ।
२. कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने परम्परागत विश्वास तथा छोरीको उमेर बढ्दै जाँदा दाइजोको रकम बढ्दै जान्छ भन्ने मनोसाय भएकोले छोरीको कम उमेरमा विवाह गर्नुको मुख्य कारण मध्ये दाइजो पनि पर्छ ।
३. जातिय विभेदका कारणले बाल विवाह भएको देखिन्छ ।
४. बाल बालिकामा शशिक्षा तथा जनचेतनाको कमिका कारणले पनि बाल बिवाह भएको पाइन्छ ।
५. अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँनु ।
समुदायका मानिसहरूले सामाजिक मूल्य, इज्जतका कारण वालविवाहबिरुद्ध बोल्नसकेका छैन, बाल विवाहबिरुद्धका उजुरीहरू दर्ता भएका छैनन् । खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेको देखिदैन् ।

बालविवाह सामाजिक रोग हो । यस्ता बाल बिवाह जस्स्ता गैरकानूनी कार्यलाई रोक्न सवै सरोकारवालापक्षको सहयोग आवश्यक हुन्छ । बालबालिकालाई अनिवार्य रुपमा पढ्ने पढाउने वातावरणको सृजना गरिनु पर्दछ । बालविवाहबाट शारीरिक तथा मानसिक रुपमा पर्न सक्ने असर र क्षतिको बारेमा सवै अभिभावक तथा नावालक विद्यार्र्थीहरुलाई प्रशिक्षित गराउनु पर्छ । बालविवाह गर्ने गराउने परिवारको अभिलेखिकरण गरी सो को कारणका बारेमा गहिरो अध्ययन गरी सो को रोकथामको प्रयास गरिनु पर्दछ । बालविवाह गर्ने गराउनेलाई कानूनको दायरमा ल्याई सजाय समेत गरिनु पर्दछ । बालविवाह गर्ने गराउनेलाई अहिले भएको सजायको व्यवस्था कम भएकोले बालबालिकाको भविष्य र घट्न सक्ने गम्भीर घटनालाई मध्येनजर राखी बालविवाह गराउनेलाई सजाय बढाउनुु पर्दछ । केटा, केटापक्षका परिवार वा कोही कसैको कारणले महिलाले आत्महत्या गरेको अवस्थामा आत्महत्याको लागि बाध्य पार्ने आत्महत्याका कारणीलाई समेत सजायको व्यवस्था गरिनु पर्दछ ।

बाल विवाह गैरकानुनी हो, यसबाट बालबालिकाले शारीरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भन्ने जान्दा जान्दै पनि यस्तो गलत परिपाटीका विरुद्ध संगठित आवाज उठ्न सकेको छैन । तसर्थ राज्यले कानुनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न कञ्जुस्याइँ गर्नुहुन्न् ।