काठमाडौं। शारीरिक सम्बन्ध राख्न नमानेको रिसको श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिले श्रीमतीको हत्या गरिसकेपछि आफ्ना ३ साना छोराछोरीलाई समेत जिउँदै नहरमा बगाइदिएको आरोप लगाइएको छ । हिन्दूस्तान टाइम्सका अनुसार भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लाको बसेरी गाउँमा उनले हत्या गरेका हुन् ।

पक्राउ परेका अभियुक्त ३४ वर्षका पप्पुले मंगलबार हत्या गरिसकेपछि छिमेकी राज्य उत्तराखण्डको लक्सार भागेका थिए । उनी लक्सारबाटै पक्राउ परेका हुन् । फुजफ्फरनगरका एसएसपी अभिषेक यादवका अनुसार सोधपुछका क्रममा आफूलाई आफ्नी श्रमिती २९ वर्षकी डोलीको अवैध सम्बन्ध राखेको शंका लागेको र उनले आफूसँग शारीरिक सम्बन्धको लागि अस्वीकार गर्दै आएका कारण हत्या गरेको बयान दिएका छन् ।

‘श्रीमतीले आफूसँग शारीरिक सम्बनध राखेपछि आफूलाई उनको अवैध सम्बनध रहेको विश्वास भएको र आफूले श्रीमतीलाई टाउकोमा गोली हानेको आरोपीले बताएका छन्’ एसएसपी यादवले हिन्दूस्तान टाइम्ससँग भने । गोताखोरहरुले नहरमा बगाइएका ३ मध्ये एक बच्चाको शव फेला पारेको मुजफ्फरनगरका एसपी विजयवर्गीयले बताए । ‘गोताखोरहरुले एउटा बच्चाको शव फेला पारेका छन् र अन्य २ को खोजी भइरहेको छ’ उनले भने ।

पुलिसका अनुसार नहरमा फ्याँकिएका तीन बालबालिकाहरु ५ वर्ष, ३ वर्ष र १८ महिना उमेरका थिए । सोधपुछका क्रममा आरोपीले अब बालबालिकाको हेरविचार गर्न कोही नहुने भएकोले आफूले उनीहरुलाई नहरमा फालेको बताएका छन् । ‘आफू पक्राउ परेपछि उनीहरुको हेरचाह कसले गर्ला भनेर आफू चिन्तित भएको उनले बताएका छन्’ पुलिसले भन्यो ।

परिवारका सदस्यको उजुरीका आधारमा पप्पुविरुद्ध पुरकाजी पुलिस स्टेसनका हत्याको अभियोगमा केस दर्ता गरिएको छ । खासमा डोली पप्पुका दाजुकी श्रीमती थिइन् । १० वर्षअघि पप्पुका दाजुको मृत्यु भएपछि डोलीसँग पप्पुले बिहे गरेका थिए । उनीहरुका दुई छोरी र एक छोरा थिए ।