कोभिड १९ को दोस्रो लहरमा भारतमा ५९४ चिकित्सकको ज्यान गएको छ। कोरोना संक्रमितको उपचारका क्रममा संक्रमण हुँदा उनीहरूले ज्यान गुमाएका हुन्।  इन्डियन मेडिकल एसोसिएसन ९आईएमए० ले सार्वजनिक गरेको तथ्यांकअनुसार, दोस्रो लहर चलेयता चिकित्सकले ज्यान गुमाउने क्रम बढेको छ। सबैभन्दा बढी दिल्लीमा १०७ चिकित्सकको मृत्यु भएको छ।

त्यस्तै, बिहानरमा ९६, उत्तर प्रदेशमा ६७ र राजस्तानमा ४३ जना चिकित्सकले ज्यान गुमाएका छन्। चिकित्सक भन्दा बढी अन्य स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन्।

भारतमा अहिले कोरोना संक्रमण घट्दो क्रममा रहेको छ। पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार २२८ जनामा संक्रमण देखिएको छ। जबकी तीन साता अघि दैनिक चार लाख संक्रमित थपिएका थिए।

नयाँ थपिने संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्यामा भने खासै कमि आएको छैन। पछिल्लो २४ घण्टामा तीन हजार २०५ जनाको मृत्यु भएको छ। तीन साता अघि दैनिक चार हजारले ज्यान गुमाएका थिए।

भारतमा सबैभन्दा छिटो कोरोना नियन्त्रण दिल्लीमा भएको छ। पछिल्लो २४ घण्टामा दिल्लीमा ६२३ जनामा संक्रमण पुष्टि भएको छ। जबकी एक महीना अघि एकै दिन २८ हजार संक्रमित थपिएका थिए।

अहिले दिल्लीमा संक्रमणदर १ प्रतिशतमा झरेको छ। एक महीना अघि १५ प्रतिशतभन्दा बढीको थियो। नेपालमा भने संक्रमणदर ३४ प्रतिशत रहेको छ।