-हरि शरण ढकाल

आज विश्व कोभिड–१९ को दोस्रो चरणको लहरले प्रभावित छ । अझै यति बेला दक्षिण एसियाका अधिकांस देशहरु आक्रान्त छन । नेपालमा पनि कोभिड–१९ तिब्र गतिमा फैलिरहेको छ । दैनिक जसो हजारौं नयाँ संक्रमित तथा सयौंको मृत्युको समाचार याहाँका मिडियाहरुको हालको हेडलाइन हुने गरेका छन । तर हजारौंको संख्यामा दैनिक मानिसहरुले कोरोनालाई जितिरहेका पनि छन । व्यापार, ब्यवसाय, शैक्षिक संस्था,उधोग जस्ता सम्पुर्ण क्षेत्रहरु पुर्ण रुपमा प्रभावित छन । दैनिक ज्याला मजदुरीबाट गुजारा गर्ने परिवारमा लकडाउनका कारण खाधान्न संकटको समस्या सुरु भैसकोको अवस्था छ ।

कुनै एक पक्षको मात्र प्रयासबाट यो माहामारी नियन्त्रण संभव छैन । खोपको आविष्कार भै सकेको अवस्थामा सरकारले आफ्ना सम्पुर्ण नागरिकहरुलाई छिटो भन्दा छिटो खोपको व्यवस्था गर्नु, संक्रमितहरुको उपचारसंगसंगै अति विपन्न परिवारहरुलाई राहत उपलब्ध गराउनु सरकारको प्रमुख भुमिका हो । तर त्यता तिर सरकार त्यति गम्भिर बन्नुको सट्ठा राजनितिक भागबन्डा तथा भाँडभैलोको अवस्था सिर्जना भएको छ । जसका कारण जनतामा झन निरासा छाएको छ ।

यो माहामारी नियन्त्रणमा अर्को महत्वपुर्ण भुमिका हामि आम नागरिकको छ । सरकारले जारी गरेको निर्देशनहरुको पुर्ण रुपमा पालना गर्ने, स्वास्थ्य सावधानीका उपायहरु नियमित रुपमा अबलम्बन गर्ने हामा्रे जिम्मेवारी हो । हामि सबै आफु सुरक्षित रह्यौ भने संक्रमण दर पक्कै पनि कम हुन्छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख भन्दा बढी रहेको सरकारी तथ्याङक छ । कोहि घरमै होम आईसोलेसनमा त कोहि अस्पतालमा उपचाररत हुनुहुन्छ । यो समयमा हामि सबै घरमा छौं । सामाजिक संजलमा यो समयमा हामि अझै बढी सक्रिय छौं । होम आईसोलेसनमा रहेका बिरामि, अस्पतालमा उपचाररत बिरामी, शारीरिक रुपमा कमजोर सबै मानिसहरुले सामाजिक संजालमा तपाईले पोष्ट गर्नु भएको गतिविधिहरु हेरिरहेका छन । सबै मानिसको आत्मबल एउटै हुँदैन । मृत्युका श्रद्धान्जलीहरु, आत्महत्याका घटनाहरु जस्ता पोष्टहरुले संक्रमितको मनोबललाई झन कमजोर बनाउँछ । अझ कतिपयले त आफ्नो उमेरका संक्रमितको मृत्युका खबर पढ्दा आफ्नो उमेर समेत दाँजेर हेर्छन अनि झन कमजोर बन्छन । त्यसकारण सक्छौं सकारात्मक कुराहरु पोष्ट गरौं सक्दैनैं भने कुनै पनि नकारात्मक पोष्ट नगरौं ।

बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालको एक अन्तवार्तामा भन्नु भएको थियो “मनुष्यको जीवन र मृत्यु निर्धारणमा चिकित्सक मात्र एक्लो खेलाडी हैन” अझ प्रष्ट पार्दै उहाँ भन्नुहुन्छ एउटै उमेर, एउटै रोग र समान संबेदनशिलता भएका बिरामिको एउटै पद्धतीबाट उपचार गर्दा एउटा बाँच्छ र अर्कोको मृत्युहुन्छ भने त्यो सिर्फ आत्मबलको कारण हो । उच्च आत्मबलले एउटालाई बचायो भने कमजोर आत्मबलको कारण अर्को बिरामिलाई उपचारले मात्र काम गर्न सकेन ।

आजको अवस्थामा कोभिडको जोखिममा रहेका मानिसहरुको आत्मबल बढाउने नै सकारात्मक सोच सकारात्मक समाचारहरुले हो । हामिले एउटा सकारात्मक षोष्ट गर्दा त्यसले सयौं मानिसमा आशाहरु जगाउन सक्छ । कोरोनाको कारण मानिसमा एक किसिमको डर पैदा भएको छ । हामि खुसि भएको कुरालाई, दिनलाई छिट्टै भुल्छौं तर पिडा भएकोकुरा, दुखको दिन जीवन भर भुल्न सक्दैनौं । हरेक किसिमको डर, हरेक खराब परिस्थितीहरुलाई परास्त गर्ने हतियार नै आत्मबल हो । त्यसकारण नेपालका मिडियाहरु पनि यस विषयमा गम्भिर हुन जरुरी छ ।

संक्रमित भए पनि वा नभए पनि अबको केही दिन हामि घर भित्र नै बिताउने हो । त्यस कारण चिन्ता नलिई आजैको दिन बाट एउटा नयाँ सुरुवात गरौं । किताबहरु पढौं, रचनात्मक कामहरु गरौं, आफन्त परिवार संग समय बिताउँ, संक्रमित आफन्त साथिहरु संग नियमित सम्पर्कमा बसि हौसला प्रदान गरौं, संक्रमित भै ठिक भएका साथिहरुले संक्रमित साथिहरुलाई सकारात्मक अनुभव सेयर गरौं । हामि सबै सकारात्मक सोच साथ अगाडी बढ्दै आफु सुरक्षित बसौं । यस्तो माहामारीको समयमा पनि आफ्नो ज्यानको बाजी लागाएर निरन्तर बिरामिको उपचारमा खटिने स्वास्थ्यकर्मिहरुलाई ह्दय बाट धन्यबाद दिउँ ।